काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।
निगम सञ्चालक समितिको आइतबारको निर्णय अनुसार सोमबार देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखेको जनाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने निगमले जनाएको छ । निगमले गत साउन १८ गतेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल/मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको थियो ।
निगमका अनुसार, पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ कायम छ । त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको हो ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जलाई पहिलो, सुर्खेत, दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको जनाएको छ ।



विश्व खबर 




















