images
images
  • जीवन बीमा कम्पनीको कमिसन खर्च १० प्रतिशतले बढ्यो

    काठमाडौं– जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा अभिकर्ता कमिसनबापत १६ अर्ब ३० करोड ३९ लाख रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो रकम १ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ अर्थात् १०.११ प्रतिशतले बढी हो ।

    आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १४ अर्ब ८० करोड ७० लाख रुपैयाँ रहेको थियो । नयाँ बीमालेख बिक्री गरेबापत अभिकर्तालाई दिइने कमिसन बीमा कम्पनीको नयाँ व्यवसाय विस्तारसँग प्रत्यक्ष जोडिन्छ । पछिल्लो तथ्यांकले जीवन बीमा कम्पनीहरूबीच नयाँ व्यवसाय र बजार हिस्साका लागि प्रतिस्पर्धा बढ्दै गएको देखाएको छ । बजार हिस्साका आधारमा सबैभन्दा ठूलो नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ४ अर्ब १२ करोड ४९ लाख रुपैयाँ कमिसनमा खर्च गरेको छ । कम्पनीको कमिसन खर्च अघिल्लो वर्षको तुलनामा १२.४९ प्रतिशतले बढेको हो ।

    यस्तै, नेशनल लाइफ, एलआईसी नेपाल र हिमालयन लाइफजस्ता स्थापित कम्पनीको कमिसन खर्च वृद्धिदर तुलनात्मक रूपमा न्यून देखिएको छ । नेशनल लाइफको कमिसन खर्च ३.९३ प्रतिशत, एलआईसी नेपालको ३.२७ प्रतिशत र हिमालयन लाइफको ४.२० प्रतिशतले बढेको छ । अर्कोतर्फ, नयाँ तथा उदीयमान कम्पनीहरूले कमिसन खर्च तीव्र रूपमा बढाएका छन्। आईएमई लाइफको कमिसन खर्च २७.११ प्रतिशतले बढेको छ।

    सिटिजन लाइफको १७.७३ प्रतिशत र रिलायबल नेपाल लाइफको १६.५५ प्रतिशतले बढेको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ र मेट लाइफको कमिसन खर्च पनि उद्योगको औसत वृद्धिदरभन्दा बढीले बढेको छ ।

    बीमा क्षेत्रमा कमिसन खर्च बढ्नुले नयाँ बीमालेख बिक्री र अभिकर्ता सञ्जाल विस्तारमा कम्पनीहरूको प्रतिस्पर्धा तीव्र बन्दै गएको संकेत गर्छ । यद्यपि कमिसन खर्चमा भएको निरन्तर वृद्धिले कम्पनीहरूको सञ्चालन लागतमा दबाब बढाउन सक्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images