काठमाडौं– अमेरिका–इरान युद्धले विश्व बजारमा तेल आपूर्तिमा गम्भीर असर पारेको छ ।
विश्लेषकहरूका अनुसार हाल विश्वसँग सरकारी जगेडा तेल करिब ६ महिनासम्म मात्र पुग्छ ।
साउदी अराम्कोका प्रमुख कार्यकारी अमिन नासेरका अनुसार युद्ध सुरु भएयता २ अर्ब ६० करोड ब्यारेल तेल आपूर्ति गुमिसकेको छ ।
दैनिक करिब ५० लाख ब्यारेल तेलको अभाव भइरहेको विश्लेषकहरूको अनुमान छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का अनुसार सरकारी र व्यावसायिक गरी कूल १ अर्ब ५० करोड ब्यारेल जगेडा छ ।
तर, व्यावसायिक भण्डार प्रयोग गर्न नमिल्ने भएकाले तत्काल उपलब्ध सरकारी भण्डार करिब ९० करोड ब्यारेल मात्र हो ।
यसले हालको अभावमा करिब १८० दिन (६ महिना) धान्छ ।
अमेरिकासँग विश्वकै ठूलो रणनीतिक भण्डार छ तर यो १९८३ यताकै न्यून स्तरमा झरेको छ ।
भण्डारको करिब एक चौथाइ तेल तत्काल निकाल्न नसकिने अवस्थामा हुन सक्ने अमेरिकी सरकारी निकायले जनाएको छ ।
कच्चा तेल मात्र होइन, डिजेल र हवाई इन्धनको पनि अभाव बढ्दो छ ।
रिफाइनरीमा क्षति र आपूर्ति अवरोधका कारण प्रशोधन क्षमता पनि दबाबमा परेको छ ।
चीनको तेल भण्डार भने रहस्यमय छ ।
विभिन्न अनुमानअनुसार चीनसँग १ अर्बदेखि १ अर्ब ७० करोड ब्यारेलसम्म जगेडा हुन सक्छ, जसले उसलाई केही हदसम्म सुरक्षित राख्न सक्छ ।
हर्मुज जलडमरुधि अवरुद्ध भएमा विश्व बजारमा तेल आपूर्ति झन् सङ्कटपूर्ण हुनेछ ।
यसले तेलको मूल्य वृद्धि गराई पेट्रोल, डिजेल, हवाई इन्धन र ढुवानी लागत बढ्ने हुँदा विश्व अर्थतन्त्रका थुप्रै क्षेत्रमा असर पर्नेछ ।























