काठमाडौं– जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजना तथा विभागअन्तर्गत सञ्चालनमा रहेका अन्य आयोजनाको भौतिक र आर्थिक प्रगतिको प्रभावकारी अनुगमन गर्न विशेष संयन्त्र गठन गरेको छ।
लामो समयदेखि सञ्चालनमा रहेका आयोजना लक्ष्यअनुसार अघि बढ्न नसकेको, समयसीमा नाघेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न विभागले नयाँ अनुगमन प्रणाली लागू गर्न लागेको जनाएको छ।
विभागका अनुसार अब आयोजनाको स्थलगत प्रगति, भौतिक तथा आर्थिक अवस्था, निर्माणको समयतालिका, प्रमुख समस्या र समाधानका लागि चालिएका कदमबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विभागबाट नियमित अनुगमन तथा समन्वय हुनेछ।
संयन्त्रमार्फत समस्या पहिचान गरी जिम्मेवार निकाय तोक्ने, समाधानका लागि समयसीमा निर्धारण गर्ने र त्यसको नियमित फलोअप गर्ने व्यवस्था पनि विकास गरिनेछ।
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आगामी कार्ययोजना तय गर्न आगामी साता सबै आयोजना प्रमुखसँग बैठक आह्वान गरेका छन्।
प्रारम्भिक चरणमा महाकाली (तेस्रो) सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना तथा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई प्राथमिकतामा राखेर अनुगमन गरिने विभागले जनाएको छ।
विभागका अनुसार यो संयन्त्र प्रगति विवरण संकलन गर्ने मात्र नभई समस्या पहिचान, तत्काल कार्य, जिम्मेवारी निर्धारण र परिणामको फलोअप गर्ने नतिजामुखी प्रणालीका रूपमा सञ्चालन हुनेछ।
यसबाट लामो समयदेखि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना निर्धारित समय, लागत र गुणस्तरभित्र सम्पन्न गर्न थप जवाफदेहिता र प्रभावकारिता आउने अपेक्षा गरिएको छ। आयोजनाका मुख्य संरचना र आयोजना कार्यालयबाट प्राप्त विवरणलाई विभागको सिधा अनुगमन प्रणालीमा समेटी नियमित समीक्षा गरिने विभागले जनाएको छ।























