images
images
  • हेलिकप्टरमार्फत बडीमालिकामा सञ्चार उपकरण पुर्‍याइयो, पाँच दिनभित्र फोर–जी सेवा सञ्चालन गर्ने लक्ष्य

    काठमाडौं– बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तारका लागि नेपाल टेलिकमले सञ्चार उपकरण हेलिकप्टरमार्फत ढुवानी गरेको छ। नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मङ्गलबार उपकरण तथा अन्य आवश्यक सामग्री बडीमालिका क्षेत्रमा पुर्‍याइएको हो।

    बडीमालिका बाजुरा जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हो। समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका मन्दिर क्षेत्रमा हालसम्म गुणस्तरीय दूरसञ्चार सेवा पुगेको छैन ।

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साउन ८ गते बडीमालिकामा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका थिए । त्यसपछि टेलिकमले उपकरण जडानको कामलाई तीव्रता दिएको हो ।

    मन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग सम्भावित जडानस्थल, आवश्यक दूरसञ्चार पूर्वाधार तथा सडक सञ्जालको अवस्थाबारे छलफल गरेका थिए। भौगोलिक कठिनाइका कारण सडकमार्फत सामग्री पुर्‍याउन नसकिने भएपछि हेलिकप्टर प्रयोग गर्ने निर्णय गरिएको थियो।

    नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माले प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको जानकारी दिए। उनका अनुसार आवश्यक सामग्री जडानस्थलमा पुगेको करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिनेछ।

    सामग्री ढुवानी, जनशक्ति व्यवस्थापन तथा स्थानीय तहबाट प्राप्त हुन सक्ने आर्थिक र अन्य सहयोगबारे बडीमालिका र त्रिवेणी नगरपालिकासँग छलफल भइरहेको टेलिकमले जनाएको छ।

    नेपाल टेलिकमले प्रारम्भिक रूपमा साउन ३० गतेभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो। तर मौसम र दुर्गम भूगोलका कारण काममा केही समय थप लाग्ने भएको छ।

    सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ। सोही योजनाअनुसार बडीमालिका क्षेत्रमा तत्काल फोर–जी सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ।

    टेलिकमले सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारको अध्ययन अघि बढाएको जनाएको छ। यसअघि डोल्पाको लहान र दुनै क्षेत्रमा करिब तीन हजार नौ सय मिटर तथा ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ।

    देशभर सञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माण प्रक्रिया अघि बढाइएको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै करिब छ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images