काठमाडौं– अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को मूल्यांकनअनुसार सन् २०२५ मा अमेरिकी सैन्य कारबाहीका क्रममा १५३ जना सर्वसाधारण मारिएका र २४३ जना घाइते भएका छन् ।
रायटर्सका अनुसार उक्त तथ्यांक अमेरिकी कंग्रेसमा बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको हो ।
पेन्टागनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वसाधारणको मृत्यु र घाइतेका सबै घटना यमनमा भएका तीन अमेरिकी आक्रमणसँग सम्बन्धित छन् ।
अमेरिकी केन्द्रीय कमाण्ड (CENTCOM) ले अप्रिल २०२५ मा यमनमा गरिएका ती तीन आक्रमणबाट सम्भावना बढीका आधारमा सर्वसाधारणलाई क्षति पुगेको निष्कर्ष निकालेको प्रतिवेदनमा जनाइएको छ ।
यसअघि सन् २०२४ मा अमेरिकी सैन्य कारबाहीबाट दुई जना सर्वसाधारण मारिएका र दुई जना घाइते भएको पेन्टागनले मूल्यांकन गरेको थियो ।
त्यसको तुलनामा २०२५ को तथ्यांक उल्लेख्य रूपमा बढी हो ।
प्रतिवेदनले फेब्रुअरी २०२६ सम्म यमनमा भएका थप १५ वटा घटनाको पनि मूल्यांकन भइरहेको जनाएको छ ।
ती घटनाबारे गैरसरकारी संस्थाबाट प्राप्त विवरणका आधारमा अनुसन्धान भइरहेको CENTCOM ले जनाएको छ ।
अमेरिकी सेनाले इरान समर्थित हुथी विद्रोहीहरूको सैन्य क्षमता कमजोर बनाउने उद्देश्यले यमनमा कारबाही गर्दै आएको बताएको छ ।
यद्यपि मानवअधिकार संगठनहरूले यस्ता आक्रमणमा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न अमेरिका असफल भएको आरोप लगाएका छन् ।
पेन्टागन प्रतिवेदनमा क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी आक्रमणबाट भएका क्षतिको विवरण समावेश गरिएको छैन ।
अमेरिकी दक्षिणी कमाण्ड (USSOUTHCOM) ले आफ्नो जिम्मेवारी क्षेत्रभित्र २०२५ मा अमेरिकी कारबाहीबाट सर्वसाधारण हताहत भएको कुनै घटना पुष्टि नभएको जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध ओसारपसार गरिरहेका जहाजहरूलाई लक्षित गर्दै आएको छ ।
ती जहाजमाथि भएका अमेरिकी आक्रमणमा सेप्टेम्बर २०२५ यता २०० भन्दा बढी मानिस मारिएको विवरण सार्वजनिक भइसकेको छ ।
ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेशनलले यस्ता आक्रमणलाई गैरकानुनी न्यायबाहिर हत्या भनेका छन् ।
अमेरिकन सिभिल लिबर्टिज युनियन (ACLU) ले ट्रम्प प्रशासनले लक्षित व्यक्तिहरूबारे गरेका दाबीलाई “अप्रमाणित र भय फैलाउने” भन्दै आलोचना गरेको छ । –रोयटर्स


विश्व खबर 


















