images
images
  • नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै बैंकहरूको विशेष अटो कर्जा योजना, ईभीमा ५.५ प्रतिशतदेखि ब्याजदर

    काठमाडौं– ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ लाई लक्षित गर्दै विभिन्न बैंक तथा बिमा कम्पनीहरूले सवारीसाधन कर्जामा विशेष ब्याजदर र सहुलियतपूर्ण योजना सार्वजनिक गरेका छन्  । ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकले अटो कर्जामा आकर्षक ब्याजदर, शुल्क छुट र छिटो कर्जा स्वीकृतिसहितका योजना ल्याएका हुन्  ।

    बैंकहरूले आधार दरमा कम प्रिमियम जोडेर कर्जा उपलब्ध गराउने, कर्जा प्रक्रियामा सहजीकरण गर्ने र विभिन्न सेवा शुल्कमा छुट दिने व्यवस्था गरेका छन् ।

    एनएमबी बैंकले नयाँ विद्युतीय सवारीसाधन बुक गर्ने ग्राहकलाई लक्षित गर्दै आधार दरमा ०.५ प्रतिशत मात्र थपेर कर्जा दिने योजना ल्याएको छ । बैंककी रिलेसन म्यानेजर क्रचा पाण्डेका अनुसार सेकेन्डह्यान्ड गाडीको मूल्यांकन गरी त्यसको अधिकतम ५५ प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ भने कर्जाको अधिकतम सीमा ३५ लाख रुपैयाँ हुनेछ ।

    ग्लोबल आईएमई बैंकले ५.२५ प्रतिशतदेखि प्रिमियम सुरु हुने विशेष योजना ल्याएको छ । बैंकले सामान्य अवस्थामा आधार ब्याजदरमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम जोड्ने भए पनि एक्स्पोलाई लक्षित गर्दै ०.५ प्रतिशतदेखि प्रिमियम सुरु हुने अफर सार्वजनिक गरेको हो ।

    बैंकका प्रतिनिधि मञ्जिल श्रेष्ठका अनुसार ग्राहकका सबै कागजात र प्रक्रिया पूरा भएको अवस्थामा एक्स्पोस्थलमै तत्काल कर्जा उपलब्ध गराउन सकिने ‘नाइमा फेस्टिभ’ योजना अघि सारिएको छ ।

    ग्लोबल आईएमई बैंकले नयाँ ईभी खरिद गर्ने ग्राहकका लागि तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको विशेष योजना पनि ल्याएको छ । तीन वर्षपछि बैंकको आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम हुनेछ । बैंकले अटो कर्जा अधिकतम सात वर्षसम्मका लागि उपलब्ध गराउने जनाएको छ ।

    तीन वर्ष पुरानो गाडीका लागि बाँकी चार वर्षसम्म कर्जा दिन सकिने व्यवस्था गरिएको छ । अन्य बैंकबाट कर्जा लिइरहेको गाडी पुनः फाइनान्स गर्न चाहने ग्राहकका लागि पनि सम्बन्धित बैंकमा बाँकी रहेको रकमलाई आधार मानेर कर्जा सुविधा उपलब्ध गराइने श्रेष्ठले बताए । व्यक्तिगत ग्राहकका लागि गाडीको बजार मूल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सकिने उनको भनाइ छ ।

    सिद्धार्थ बैंकले ०.५ प्रतिशत प्रोसेसिङ शुल्क र वार्षिक १ प्रतिशत प्रिमियमसहितको योजना ल्याएको छ । बैंकले नयाँ गाडी खरिदका लागि ५.५ प्रतिशत आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

    नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थपेर अटो कर्जाको ब्याजदर निर्धारण गर्न सक्छन् । पछिल्लो समय बैंकहरूको आधार दर घट्दै गएसँगै अटो कर्जाको ब्याजदर पनि क्रमशः घटिरहेको छ ।

    नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा विशेष गरी विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदर र छिटो कर्जा स्वीकृतिका योजना ल्याएका हुन् । यसले एक्स्पोमा सवारी खरिद गर्ने ग्राहकलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images