काठमाडौं– बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले वर्तमान सरकारले पनि बूढीगण्डकी जलविद्युत आयोजनालाई प्राथमिकतामा नराखेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको जनाएको छ।
समितिका संयोजक हरेराम ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रमै बूढीगण्डकी आयोजना निर्माण गर्ने प्रतिबद्धता जनाएर भोट मागेको, डुबान क्षेत्रका बासिन्दाले विश्वास गरेर मत दिएको र अहिले सोही पार्टी नेतृत्वको सरकारले आयोजनालाई बेवास्ता गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा गोरखाबाट निर्वाचित सांसद सुधन गुरुङ गृहमन्त्री र गोरखालाई पैत्रिक थलो मानिने डा. स्वर्णिम वाग्ले अर्थमन्त्री हुँदा पनि आयोजना अघि नबढ्नु विडम्बनापूर्ण भएको उल्लेख गरिएको छ।
“देशको मुहार फेर्ने आयोजना भनेर हामी थातथलो छाड्न तयार भएका हौं। डुबान क्षेत्रका बासिन्दाको भोटले चुनाव जितेकाहरूले डुबान क्षेत्रकै बासिन्दालाई बेवास्ता गर्छन् भने डुबानबासीले सांसद र मन्त्रीलाई डुबान क्षेत्रमा प्रवेश निषेध गर्ने दिन पनि आउन सक्छ,” विज्ञप्तिमा भनिएको छ।
समितिले आयोजना निरन्तर अनिश्चित बनाइराखिए घरजग्गा फिर्ता लिने आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। त्यसका लागि सडक आन्दोलनदेखि अदालतसम्म जाने तयारी रहेको पनि जनाएको छ।
समितिका अनुसार बूढीगण्डकी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन, टेन्डर कागजात तथा जग्गा प्राप्तिको काम अगाडि बढिसकेको छ। अघिल्लो सरकारले निर्माणको मोडालिटी समेत टुंग्याइसकेको अवस्थामा वर्तमान सरकारले नयाँ मोडालिटीको कुरा गरेर आयोजना थप लम्ब्याउन खोजेको आशंका व्यक्त गरिएको छ।
विज्ञप्तिमा अर्थमन्त्रीले सार्वजनिक रूपमा अहिलेको मोडालिटीबाट आयोजना बन्न नसक्ने र नेपाल विद्युत प्राधिकरणमार्फत अघि बढाउनुपर्ने बताएको उल्लेख गर्दै प्राधिकरणमार्फत निर्माण गर्ने हो भने त्यससम्बन्धी प्रक्रिया तत्काल सुरु नगर्नुको कारण स्पष्ट पार्न माग गरिएको छ।
समितिले गोरखा र धादिङका डुबान क्षेत्रका बासिन्दासँग सरकार तथा जनप्रतिनिधिले कुनै संवाद नगरेको आरोप पनि लगाएको छ। अन्य मञ्चमा आयोजनाबारे बोल्ने जनप्रतिनिधिहरू प्रभावित बासिन्दासँग खुला छलफल गर्न तयार नरहेको विज्ञप्तिमा उल्लेख छ।
डुबान क्षेत्रका उब्जाउ फाँट र बस्ती उजाड बनेको, विकास निर्माण ठप्प भएको, सडक मर्मत हुन नसकेको र बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था रहेको समितिको दाबी छ। मुआब्जा लिएका धेरै परिवारले पुनर्बासको व्यवस्था गर्न नसकेकाले जीवन झन् कष्टकर बनेको पनि जनाएको छ।
समितिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र जिल्ला मुआब्जा समितिको सिफारिसअनुसार सुविधा उपलब्ध गराउन, जलाशय बाहिर चक्रपथ र व्यवस्थित सहर निर्माण गरी पुनर्बास तथा पुनर्स्थापना गर्न माग गरेको छ। यी माग सम्बोधन नगरे आयोजना अघि बढ्न नसक्ने समितिको चेतावनी छ।
अन्त्यमा समितिले सरकारले डुबानबासीसँग तत्काल संवाद गर्न, बाँकी मुआब्जा वितरण गर्न र बजार क्षेत्रका बासिन्दाको व्यवसाय सुरक्षाको वातावरण बनाउन आग्रह गरेको छ।























