काठमाडौं– नेपाल एसबिआई बैंक लिमिटेड (एसबिआई) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.८९ प्रतिशतले वृद्धि भएको छ ।
गत असार मसान्तसम्म बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकका अनुसार खुद ब्याज आम्दानीमा सामान्य वृद्धि हुनु तथा इम्पेरमेन्ट चार्ज घट्नु नाफा बढ्नुका मुख्य कारण हुन् । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १.३० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.१२ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, कुल सञ्चालन आम्दानी ५.२१ प्रतिशत र सञ्चालन मुनाफा ६.२२ प्रतिशतले बढेको छ । इम्पेरमेन्ट चार्ज १ अर्ब ३ करोड ५ लाख रुपैयाँबाट घटेर ९४ करोड १ लाख रुपैयाँमा सीमित भएपछि सञ्चालन मुनाफा र खुद नाफामा सकारात्मक प्रभाव परेको बैंकले जनाएको छ ।
नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ ४२ पैसा बढेर १८ रुपैयाँ ४ पैसा पुगेको छ ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेय र आम्दानी ११ रुपैयाँ ४ पैसा रहेको छ ।
बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा र मूल्य–आम्दानी अनुपात २१.७७ गुणा रहेको छ ।
हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ७३ करोड ७७ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको नाफा, सञ्चालन आम्दानी र प्रतिशेयर आम्दानीमा देखिएको सुधारले वित्तीय अवस्था थप सुदृढ भएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।


विश्व खबर 



















