काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्की भ्रमणका क्रममा सुरक्षा खतराका कारण विमान परिवर्तन गरेको स्वीकार गरेका छन् ।
नाटो शिखर सम्मेलनमा सहभागी हुन जाँदा आफू चढेको विमान सम्भावित आक्रमणको मुख्य लक्ष्य हुन सक्ने भन्दै सुरक्षा निकायको सल्लाहअनुसार गोप्य रूपमा सैन्य विमान सी–३२ ए मा सारिएको उनले बताए ।
ट्रम्पले विमानस्थलको क्याटरिङ ट्रक प्रयोग गरेर आफूलाई अर्को विमानसम्म पुर्याइएको पनि स्वीकार गरे ।
‘यदि आक्रमण हुन्थ्यो भने त्यही विमानलाई निसाना बनाइन्थ्यो । सुरक्षा निकायले जे भन्छन्, म त्यही गर्छु,’ उनले पत्रकारसँग भने ।
वासिङ्टन पोस्टका अनुसार ट्रम्प सुरुमा कतारले अमेरिकालाई दिएको बोइङ ७४७–८ विमानमा देखिएका थिए ।
त्यसपछि उनलाई चुपचाप अमेरिकी वायुसेनाको भीआईपी विमान सी–३२ ए मा सारिएको थियो ।
पत्रकार र केही ह्वाइट हाउस कर्मचारीलाई समेत वास्तविक योजनाबारे जानकारी थिएन ।
ट्रम्पले सानो सैन्य विमानबाट बेलायत पुगेर पुनः पुरानो एयरफोर्स वानमा चढेको बताइएको छ ।
कतारबाट प्राप्त विमानको सुरक्षाबारे पहिले पनि प्रश्न उठ्दै आएका छन्, तर ह्वाइट हाउसले त्यसमा सुरक्षाको कुनै कमी नभएको दाबी गरेको छ ।


विश्व खबर 



















