काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट बेलायत फर्किने क्रममा गोप्य रूपमा सानो सैन्य विमान प्रयोग गरेको खुलासा भएको छ ।
वासिङटन पोस्टका अनुसार इरानबाट हत्या धम्की आएपछि ट्रम्पको यात्राको योजना अन्तिम समयमा परिवर्तन गरिएको थियो ।
रिपोर्टअनुसार ट्रम्प क्यामेरामा पुरानो एयरफोर्स वानमा चढेको देखिए पनि केहीबेरपछि उनलाई केटरिङ गाडीमार्फत गोप्य रूपमा सी–३२ ए सैन्य विमानसम्म पुर्याइएको थियो ।
पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीलाई समेत वास्तविक योजनाबारे जानकारी थिएन ।
ट्रम्प सवार सानो विमान बेलायतको आरएएफ मिल्डेनहल एयरबेसमा पहिले पुगेको थियो भने पत्रकारहरू रहेको पुरानो एयरफोर्स वान केही मिनेटपछि अवतरण गरेको थियो ।
सुरक्षा कारणले उडानका क्रममा पत्रकारलाई झ्यालका पर्दा बन्द राख्नसमेत भनिएको थियो ।
यस्तो भ्रम सिर्जना गरेर राष्ट्रपतिको वास्तविक यात्रा लुकाउने सुरक्षा रणनीति यसअघि बिल क्लिन्टनको पाकिस्तान भ्रमणमा पनि अपनाइएको थियो ।
पछिल्लो समय ट्रम्प चीन र रूस जस्ता शक्तिशाली देशभन्दा इरानसँग डराएका छन् ।
इरान, अमेरिका र इजरायलबीच चार महिनायता युद्ध भइरहेको छ ।


विश्व खबर 



















