काठमाडौं– एनएमबी बैंकले मनाङ जिल्लामा निर्माणाधीन ६५ मेगावाट क्षमताको दूध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता तथा अगुवा बैंकका रूपमा वित्तीय व्यवस्थापन गरेको छ ।
दूध खोला हाइड्रो पावर कम्पनीद्वारा प्रवर्द्धन गरिएको उक्त आयोजनामा माउण्टेन इनर्जी नेपाल लिमिटेड र सीताराम तिमिल्सिना समूह प्रमुख लगानीकर्ताका रूपमा रहेका छन् ।
आयोजनामा एनएमबी बैंक अगुवा बैंकको रूपमा सहभागी रहेको छ भने सानिमा बैंक लिमिटेड सह–अगुवा बैंकका रूपमा रहेको बैंकले जनाएको छ ।
६५ मेगावाट क्षमताको यस आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यसमध्ये बैंक तथा वित्तीय संस्थाबाट ९ अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।
ऋण सम्झौतामा एनएमबी बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल र दूध खोला हाइड्रो पावर कम्पनीका तर्फबाट अध्यक्ष अरुण के.सी.ले हस्ताक्षर गरेका छन् ।
एनएमबी बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ । बैंकका अनुसार नेपाल राष्ट्र बैंकले जारी गरेको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका २०२२ अनुसार बैंकले वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै आएको छ ।
बैंकले लगानीका वातावरणीय र सामाजिक पक्षको मूल्यांकनका आधारमा जिम्मेवार लगानी सुनिश्चित गर्ने नीति अपनाएको जनाएको छ । दूध खोला आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत उत्पादनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।


विश्व खबर 



















