images
images
  • हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीप्रति प्रचण्डको स्वागत, सरकारलाई धन्यवाद

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति स्वागत गर्दै धन्यवाद दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रचण्डले नेपाल सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेको सुन्दा खुसी लागेको बताएका छन् । उनले यस पहलबाट कपडा उपभोगमा रहेको आयात निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    आफू नेतृत्वको सरकारले हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार गराएको स्मरण गर्दै उनले त्यसकै आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको उल्लेख गरेका छन् ।

    सघन गृहकार्यपछि अघि बढाइएको प्रक्रिया सरकारबाट बाहिरिएसँगै रोकिएको र अहिले पुनः अघि बढ्नु सुखद भएको भन्दै उनले सरकारलाई धन्यवाद दिएका हुन् ।

    प्रचण्डले हेटौँडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगहरूलाई आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालन गर्न सके आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ नेपालले ठूलो फड्को मार्न सक्ने धारणा राखेका छन् । उनले उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने दिशामा यस्ता उद्योगको पुनरुत्थान महत्वपूर्ण हुने बताएका छन् ।

    यसअघि गत शुक्रबार प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादन सुरु भइसकेको जानकारी दिएका थिए । उनका अनुसार केही मात्रामा कपडा उत्पादन पनि सुरु भएको छ । उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको र परीक्षणपछि नेपाल सरकारले नै उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ ।

    प्रधानमन्त्री शाहले वर्षौँदेखि बन्द, घाटामा रहेका र निराशाले घेरिएका राष्ट्रिय उद्योगहरू पुनः आफ्नै खुट्टामा उभिने विश्वास व्यक्त गरेका छन् । नयाँ सरकारले राष्ट्रिय उद्योग र संस्थानलाई पुनर्जीवित र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकता दिएको उनले बताएका छन् ।

    प्रधानमन्त्रीले डीडीसीमा किसानको बक्यौता भुक्तानी घटाइएको, नेपाल औषधि लिमिटेडले नाफा आर्जन गरेको, नेपाल वायुसेवा निगमको आम्दानी र सिट उपयोगिता बढेको तथा सिंहदरबार वैद्यखानाको उत्पादन र कारोबारमा उल्लेखनीय वृद्धि भएको विवरण पनि सार्वजनिक गरेका थिए ।

    प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत रुग्ण उद्योग पुनः सञ्चालनका प्रयासबारे जानकारी दिएपछि पूर्वप्रधानमन्त्री प्रचण्डले पनि सामाजिक सञ्जालबाटै त्यसको समर्थन जनाउँदै प्रतिक्रिया दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images