images
images
  • राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ मोटरेबल पुल निर्माण सम्पन्न

    काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीमाथि स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ प्रविधिमा आधारित मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

    निर्माणको मुख्य काम सकिएसँगै अब सामान्य फिनिसिङ, रङरोगन तथा पुलका दुवै छेउका अवरोध हटाएपछि नियमित सवारी सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

    पुल सेक्टर पोखराका अनुसार राम्दीमा निर्माण गरिएको यो पुल ‘कङ्क्रिट भरिएको स्टिल ट्युब आर्च’ अर्थात् ‘टाइड आर्च’ प्रविधिमा आधारित छ। पुलको डिजाइन थाइल्यान्डका डिजाइनरले तयार गरेका हुन्। यस्तै प्रकारका पुल भुटान, चीन र दुबईमा भए पनि नेपालमा भने पहिलो पटक निर्माण गरिएको हो ।

    एक स्पानमा निर्माण गरिएको पुल १२० मिटर लामो र ११ मिटर चौडा छ। पुल सेक्टर पोखराका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार नयाँ पुल २०२८ सालमा निर्माण भएको पुरानो ट्रस पुलभन्दा २७ मिटर लामो छ ।

    पुल निर्माणका लागि २०७९ असार ३० गते हिम सगरमाथा प्रालि, चितवनसँग २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। प्रारम्भिक योजना अनुसार तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि डिजाइन तयार हुन ढिलाइ हुनु, भारतबाट निर्माण सामग्री र चीनबाट प्राविधिक विज्ञ समयमै उपलब्ध हुन नसक्दा काम निर्धारित समयमा पूरा हुन सकेन ।

    निर्माण सम्पन्न गर्न थप एक वर्ष म्याद दिइएको थियो। हाल पुलमा दुवै साइडका केही सामान्य निर्माण कार्य र रङरोगन मात्र बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पुरानो ट्रस पुल जीर्ण बन्दै जाँदा विशेषगरी भारी सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो । नयाँ पुल ७० मेट्रिक टन भार क्षमताको भएकाले ठूला मालवाहक सवारीसाधनसमेत सहज रूपमा सञ्चालन गर्न सकिनेछ ।

    यद्यपि पुल सञ्चालनअघि दुवै छेउमा रहेका केही घर तथा संरचना हटाउन बाँकी छ । ती संरचना व्यवस्थापनको काम पूरा भएपछि करिब एक महिनाभित्र नयाँ पुलबाट नियमित सवारी आवागमन सुरु गर्ने तयारी गरिएको छ ।

    राम्दीको पुरानो ट्रस पुल सिद्धार्थ राजमार्ग निर्माणसँगै २०२२ सालमा बनाउन थालिएको थियो । करिब छ वर्षपछि २०२८ सालमा निर्माण सम्पन्न भएको उक्त पुलको उद्घाटन तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले गर्नुभएको थियो ।

    पाँच दशकभन्दा बढी समयसम्म यही पुलले गण्डकी र लुम्बिनी प्रदेशबीचको मुख्य यातायात धाने पनि जीर्ण बन्दै गएपछि नयाँ पुल निर्माणको आवश्यकता महसुस गरिएको थियो । नयाँ पुल सञ्चालनमा आएपछि दुई प्रदेशबीचको यातायात थप सुरक्षित, सहज र प्रभावकारी हुने विश्वास गरिएको छ । साथै वर्षौंदेखि जीर्ण ट्रस पुलमा निर्भर रहनुपरेको समस्या पनि अन्त्य हुने अपेक्षा गरिएको छ  ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images