वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) को दायरा सीमित गर्ने गरी पुन: नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
यहाँको सर्वोच्च अदालतले अघिल्लो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पले नयाँ आदेशमा हस्ताक्षर गरेका हुन् ।
मुख्य गरी अमेरिका पुगेर बच्चा जन्माई नागरिकता दिलाउने ‘बर्थ टुरिज्म’ प्रवृत्तिलाई रोक्ने र विदेशी कूटनीतिज्ञ तथा ‘विदेशी शत्रु’का सन्तानलाई जन्मसिद्ध नागरिकताबाट वञ्चित गर्ने लक्ष्यका साथ यस्तो निर्णय लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अमेरिकी सर्वोच्च अदालतले गत जुन ३० मा ट्रम्पको पहिलो आदेशलाई ६–३ को बहुमतले असंवैधानिक ठहर गर्दै १४औँ संशोधनले अमेरिकामा जन्मिने सबैलाई नागरिकताको मौलिक अधिकार दिएको स्पष्ट पारेको थियो । अदालतको उक्त फैसलालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै ट्रम्पले पैसाको बलमा नागरिकता किन्ने परिपाटी अन्त्य गर्न यो कदम चालिएको दाबी गरेका छन् ।
यद्यपि, कानुनी विज्ञहरू र नागरिक अधिकारकर्मीहरूले यो नयाँ आदेशलाई पनि संविधानविपरीत भन्दै पुन: कानुनी चुनौती दिइने बताएका छन् ।


विश्व खबर 


















