काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले पदमा रहँदा विभिन्न निर्माण कम्पनीलाई अर्बौं रुपैयाँका ठेक्का दिलाइदिएबापत घुस लिई उक्त रकम श्रीमतीको नाममा जग्गा खरिदमा लगानी गरेको खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन तथा तहीकरण (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार अधिकारी क्यानमा सिभिल इन्जिनियर (सातौं तह) देखि महानिर्देशकसम्मको जिम्मेवारीमा रहँदा ‘उमा एण्ड कम्पनी प्रालि (जेभीसहित)लाई ३ अर्ब ८ करोड ५७ लाख रुपैयाँभन्दा बढी र प्रेम प्रकाश ढकाल संलग्न ‘गायत्री निर्माण सेवा लाई १ करोड ११ लाख रुपैयाँभन्दा बढीका ठेक्का दिलाएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, गौतमबुद्ध, जनकपुर, रारा, कालिकोट तथा नलिनचोक हेलिपोर्टलगायत आयोजनाका बोलपत्र स्वीकृत तथा सहजीकरण गरिदिएबापत अधिकारीले ठेकेदारहरूसँग १ करोड ७१ लाख रुपैयाँ घुस लिने सहमति गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
अनुसन्धानअनुसार अधिकारीले घुसको रकम प्रत्यक्ष रूपमा नलिई सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले श्रीमती सुफल केसीको नाममा ललितपुर महानगरपालिका–५ स्थित १३ आना जग्गा खरिद गरेका थिए 
२ करोड ७५ लाख रुपैयाँमा तय भएको उक्त कारोबारमा जग्गाधनी रजनी श्रेष्ठका श्रीमान् सूर्य ताम्राकारको बैंक खातामा ठेकेदारहरूका खाताबाट सिधै रकम जम्मा गराइएको अभियोगपत्रमा उल्लेख छ ।
राजस्व छल्न र गैरकानुनी रकम लुकाउन लिखतमा भने ९१ लाख रुपैयाँ मात्रै थैली कायम गरी मालपोत कार्यालयबाट रजिस्ट्रेशन पास गरिएको आरोप छ ।
बैंक विवरणअनुसार सूर्य ताम्राकारको खातामा उमा एण्ड कम्पनीबाट ५ लाख, सञ्चालक वासु खड्काबाट ४० लाख, सञ्चालकहरूको संयुक्त खाताबाट ४७ लाख, कर्मचारी राजन खड्काबाट १२ लाख र प्रेम प्रकाश ढकालको खाताबाट २२ लाख रुपैयाँ जम्मा भएको देखिएको अख्तियारले जनाएको छ ।
उमा एण्ड कम्पनीका सञ्चालक वासु खड्का र ध्रुवप्रसाद तिमल्सिनाले क्यानको ठेक्का प्रक्रियामा सहजीकरण गरिदिएबापत अधिकारीले भनेको बैंक खातामा एकाउन्ट पेयी चेकमार्फत रकम दिएको बयान दिएका छन् ।
यस प्रकरणमा अख्तियारले प्रदीप अधिकारी, उमा एण्ड कम्पनीका सञ्चालकहरू तथा गायत्री निर्माण सेवालाई प्रतिवादी बनाएको छ ।
अधिकारीकी श्रीमती सुफल केसी नेपाली सेनामा कार्यरत रहेकाले उनीसम्बन्धी कारबाहीका लागि संविधानको धारा २३९ र सैनिक ऐन, २०६३ अनुसार जंगी अड्डामा पठाइएको छ ।
अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत १ करोड ७१ लाख रुपैयाँ बिगो, सोही बराबर जरिवाना र कैद सजायको माग गर्दै गैरकानुनी रूपमा खरिद गरिएको ललितपुरको १३ आना जग्गा जफत गर्न पनि मागदाबी गरेको छ ।
























