काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यो दोस्रो त्रैमासको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।
कार्यालयका अनुसार विद्युत् तथा ग्यास, वित्तीय तथा बीमा, यातायात, भण्डारण र व्यापार क्षेत्रमा भएको सुधारले आर्थिक वृद्धिमा टेवा पुगेको हो। १८ औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक १६ क्षेत्रमा धनात्मक वृद्धि देखिएको छ।
तेस्रो त्रैमासमा विद्युत् तथा ग्यास क्षेत्रमा २४.८८ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७.८३ प्रतिशत तथा थोक–खुद्रा व्यापारमा ५.२५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान छ। कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने अनुमान गरिएको छ।
कार्यालयका अनुसार अर्थतन्त्रको आकार दोस्रो त्रैमासको ६४ खर्ब २७ अर्ब रुपैयाँबाट बढेर तेस्रो त्रैमासमा ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ।






















