काठमाडौं । चिनियाँ लगानीसमेत रहेको ह्वासिन सिमेन्ट नारायणी प्रालिले पीपीसी सिमेन्ट उत्पादनमा नेपाल गुणस्तर मापदण्डले तोकेको न्यूनतम परिमाणभन्दा निकै कम ‘फ्लाइ एस’ प्रयोग गरेको कम्पनीकै विवरणबाट खुलेको छ ।
आन्तरिक राजस्व विभागमा कम्पनीले बुझाएको उत्पादन तथा कच्चा पदार्थ खपतको विवरणअनुसार कम्पनीले १० महिनामा सवा दुई लाख टनभन्दा बढी पीपीसी सिमेन्ट उत्पादन गर्दा जम्मा १.४० प्रतिशत ‘फ्लाइ एस’ प्रयोग गरेको छ ।
नेपाल गुणस्तर ३८५ अनुसार फ्लाइ एसमा आधारित पीपीसी सिमेन्टमा यसको मात्रा न्यूनतम १० र अधिकतम २५ प्रतिशत हुनुपर्छ तर ह्वासिनले न्यूनतम मापदण्डअनुसार आवश्यक पर्ने परिमाणभन्दा ८६ प्रतिशत कम फ्लाइ एस प्रयोग गरेको विवरण कर कार्यालयमा बुझाएको छ ।
२०८२ सालको १० महिनाको विवरणअनुसार ह्वासिनले २ लाख २६ हजार ६ सय ९४ टन पीपीसी सिमेन्ट उत्पादन गरेको छ । त्यति परिमाणमा सिमेन्ट उत्पादन गर्दा न्यूनतम मापदण्डअनुसार पनि २२ हजार ६ सय ६९ टन फ्लाइ एस प्रयोग हुनुपर्छ तर कम्पनीले जम्मा ३ हजार १ सय ७४ टन प्रयोग गरेको विवरण विभागमा बुझाएको छ ।
न्यूनतम मापदण्डसँग तुलना गर्दा पनि झन्डै १९ हजार ५ सय टन कम फ्लाइ एस प्रयोग भएको स्वयम् सरकारी विभागकै बुझाएको दस्तावेजमा उल्लेख छ ।
फ्लाइ एस कोइला बाल्दा निस्कने मसिनो खरानी हो । पीपीसी (पोर्टल्यान्ड पोजोलाना सिमेन्ट) उत्पादनमा यसको प्रयोग गरिन्छ । यसले कंक्रिटको दीर्घकालीन मजबुती र टिकाउपन बढाउन मद्दत गर्छ ।
फ्लाइ एस कोइला बाल्ने विद्युत् गृहबाट निस्कने एक प्रकारको मसिनो खरानी हो, जसलाई सिमेन्ट वा कंक्रिट बनाउँदा मिसाइन्छ । नेपालमा पाइने पीपीसी सिमेन्टमा यही फ्लाइ एस मिसाइएको हुन्छ । सिमेन्टमा पानी मिसाउँदा रासायनिक प्रतिक्रिया भएर क्याल्सियम हाइड्रोअक्साइड निस्कन्छ, जसले सिमेन्टलाई खासै बलियो बनाउँदैन। फ्लाइ एसमा हुने सिलिका र आलुमिनाले उक्त क्याल्सियम हाइड्रोअक्साइडसँग मिलेर अतिरिक्त मजबुती दिने तत्व बनाउँछ ।
सुरुवाती दिनमा केही बिस्तारै जमे पनि पछि गएर साधारण सिमेन्टभन्दा बढी बलियो र टिकाउ हुने मानिन्छ । यसले कंक्रिटका साना छिद्रहरू भर्ने भएकाले पानी रसाउने र नुनिलो वा रसायनले खियाउने समस्या कम हुन्छ । सिमेन्ट जम्दा निस्कने ताप कम हुने भएकाले ढलानमा चिरा पर्ने सम्भावना घट्ने उद्योगीहरू बताउँछन् ।
बिजनेस न्युजले आन्तरिक राजस्व विभागबाट अर्को सिमेन्ट उद्योगको पनि उत्पादन तथा कच्चा पदार्थ खपतको विवरण प्राप्त गरेको छ । उक्त उद्योगले २०८२ सालको अवधि ११ मा २४ हजार ४ सय १८.६५ टन पीपीसी सिमेन्ट उत्पादन गर्दा ४ हजार ७ सय ९६ टन फ्लाइ एस प्रयोग गरेको छ । यो कुल उत्पादनको १९.६४ प्रतिशत हो ।
एउटा उद्योगले झन्डै २० प्रतिशत फ्लाइ एस प्रयोग गर्दा ह्वासिनको विवरणमा भने १.४० प्रतिशतमात्रै देखिन्छ । ह्वासिनले उत्पादनमा फ्लाइ एसको सट्टा के प्रयोग गरिरहेको छ भन्ने प्रश्न यसको कच्चा पदार्थ खपतको विवरणले थप बलियो बनाएको छ ।
साढे पाँच हजार टन कच्चा पदार्थको हिसाब मिलेन
ह्वासिनले आन्तरिक राजस्व विभागमा बुझाएको मासिक उत्पादन विवरण हेर्दा कच्चा पदार्थको खपत र उत्पादित सिमेन्टको परिमाणबीच ठूलो अन्तर देखिन्छ ।
उदाहरणका लागि २०८२ सालको चौथो कर अवधिमा कम्पनीले १९ हजार ७ सय ८१ टन पीपीसी सिमेन्ट उत्पादन गरेको छ । उक्त अवधिमा कम्पनीले १३ हजार ३ सय १७ टन क्लिंकर र १ सय ८७.६ टन फ्लाइ एस प्रयोग गरेको विवरण विभागमा बुझाएको छ ।
क्लिंकर सिमेन्ट उत्पादनको मुख्य कच्चा पदार्थ हो । फ्लाइ एसमा आधारित पीपीसी सिमेन्ट उत्पादन गर्दा क्लिंकर, फ्लाइ एस र जिप्समको मिश्रण गरिन्छ। सिमेन्ट जम्ने समयलाई नियन्त्रण गर्न जिप्सम प्रयोग गरिन्छ ।
कुल उत्पादित सिमेन्टको ४.५ प्रतिशत जिप्सम प्रयोग भएको मान्दा पनि ह्वासिनले उक्त अवधिमा ६ सय ६६ टन जिप्सम प्रयोग गरेको हुनुपर्छ । क्लिंकर, फ्लाइ एस र अनुमानित जिप्समको परिमाण जोड्दा जम्मा १४ हजार १ सय ७० टन हुन्छ। तर कम्पनीले उत्पादन गरेको सिमेन्टको परिमाण १९ हजार ७ सय ८१ टन छ ।
बाँकी ५ हजार ६ सय १० टन सिमेन्ट उत्पादनमा कुन कच्चा पदार्थ प्रयोग भयो भन्ने हिसाब उपलब्ध विवरणबाट खुल्दैन । जिप्समको मात्रा ५ प्रतिशत मानेर हिसाब गर्दा पनि कच्चा पदार्थको हिसाब मिल्दैन ।
कम्पनीले फ्लाइ एसको सट्टा के मिसायो ?
ह्वासिनको उत्पादन तथा कच्चा पदार्थ खपतको विवरणमा देखिएको यो अन्तरका कारण सिमेन्टमा मापदण्डले अनुमति नदिएको कच्चा पदार्थ प्रयोग भएको देखिन्छ ।
एक सिमेन्ट उद्योगीका अनुसार अन्य उद्योगमा निर्माण प्रयोजनका लागि राखिएको बालुवामाथि समेत प्रश्न उठाउने नेपाल गुणस्तर तथा नापतौल विभागले ह्वासिनको उत्पादनस्थलमा एक लाख टनभन्दा बढी बालुवा मौज्दात हुँदा पनि प्रश्न उठाएको छैन ।
ती उद्योगीले आन्तरिक राजस्व विभागमा बुझाइएको विवरण वास्तविक भए सिमेन्टमा मापदण्डले अनुमति नदिएको कच्चा पदार्थ प्रयोग भएको हुन सक्ने आशंका गरे। विवरण वास्तविक नभए करछलीको सम्भावनासमेत अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । यद्यपि ह्वासिनले सिमेन्टमा बालुवा नै मिसाएको पुष्टि भइसकेको छैन ।
यस विषयमा नेपाल गुणस्तर तथा नापतौल विभागका प्रभातकुमार सिंहसँग कुरा गरेको थियो। सिंहले पीपीसी सिमेन्टमा न्यूनतम १० प्रतिशत फ्लाइ एस प्रयोग हुनुपर्ने बताए ।
कम्पनीको उत्पादन तथा कच्चा पदार्थ खपतको विवरण अध्ययन नगरी ह्वासिनका हकमा के भएको हो भन्न नसकिने उनले बताए । कुनै उद्योगले तोकिएको न्यूनतम परिमाणमा फ्लाइ एस प्रयोग नगरेको भए त्यो अनुसन्धानको विषय हुने उनको भनाइ छ ।
विभागको पीपीसी सिमेन्टसम्बन्धी परीक्षण तथा निरीक्षण कार्यविधिअनुसार उद्योगले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको नियमित परीक्षण गर्नुका साथै मिश्रणको अनुपातसमेत अभिलेखमा राख्नुपर्छ । यतिमात्र नभएर अर्को सरकारी विभागमा बुझाएर विवरणमा प्रष्टसँग मापदण्ड उल्लंघन भएको देखिन्छ ।
यस विषयमा ह्वासिन सिमेन्टका प्रतिनिधिसँग कुरा गर्दा उनले कम्पनीले उत्पादन गरेको सिमेन्टको गुणस्तरमा कुनै कमी नरहेको दाबी गरे । आन्तरिक राजस्व विभागमा बुझाइएको तथ्यांकमा के भएको हो भन्ने विषयमा भने थप अनुसन्धान गर्ने उनले बताए ।
ह्वासिन सिमेन्टले फ्लाइ एस प्रयोग गर्नैपर्ने मापदण्ड संशोधनका लागि लामो समयदेखि पैरवी गर्दै आएको छ । मापदण्डअनुसार उत्पादन नगर्ने बरु मापदण्ड नै संशोधन गराउने पक्षमा उद्योग लागेको थियो ।




















