काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारशमणि गेलालको ‘मेयर सरूवा गर्नुपर्छ’ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनले त्यसबारे स्पष्टीकरण दिएका छन् ।
भाइरल भिडियोमा टेलिफोनमा कुरा गरिरहेका देखिएका गेलालले ‘अधिकृत सरूवा हुन सक्छन्, अब मेयर नै सरूवा गर्नुपर्छ’ भनेको सुनिन्छ ।
उक्त क्लिपको सन्दर्भ नखुलेपछि सामाजिक सञ्जालमा संविधानविपरीत निर्वाचित मेयरलाई सरूवा गर्ने कुरा गरेको भन्दै आलोचना भएको थियो ।
गेलालले भने आफूले प्रशासनिक सरूवा नभई निर्वाचनमार्फत जनताले मेयर परिवर्तन गर्ने राजनीतिक सन्देश दिन खोजेको दाबी गरे ।
‘मैले निर्वाचनबाट सरूवा गर्ने भनेको हो । अधिकृतको सरूवा होइन, मेयरलाई अर्को निर्वाचनमा परिवर्तन गर्ने तयारी गरौं भन्ने राजनीतिक भाषा प्रयोग गरेको हुँ,’ उनले बताए ।
उनका अनुसार स्थानीय तहको कामप्रति जनगुनासो बढेकाले त्यसै सन्दर्भमा उक्त अभिव्यक्ति आएको हो ।
आफू संविधान र स्थानीय सरकारसम्बन्धी प्रावधानबारे पूर्ण जानकार रहेको भन्दै सन्दर्भविहीन भिडियो सार्वजनिक गरेर गलत अर्थ लगाइएको उनले दाबी गरे ।
त्यस्तै अर्का रास्वपाकै मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीविरुद्ध एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर बेवास्ता गरेको आरोप सार्वजनिक भएको महिनौ बितेको छ ।
२६ वर्षीया रिता अजुकोले आफू र कार्की लामो समयदेखि लिभिङ रिलेसनशिपमा रहेको र गर्भवती भएपछि कार्की सम्पर्कविहीन बनेको दाबी गरेकी छन् ।
उनका अनुसार कार्कीले सुरुमा बच्चा जन्माउन प्रोत्साहित गरे पनि पछि फोन र सन्देशको जवाफ दिन छोडेका छन् ।
अजुकोले आर्थिक अभावका कारण कठिन अवस्थामा रहेको बताउँदै बच्चाको पालनपोषणको जिम्मेवारी कार्कीले लिनुपर्ने माग गरेकी छन् ।
यस घटनापछि रास्वपाका सांसदमाथि गम्भीर नैतिक प्रश्न उठेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना हुँदै आएका छ ।
यद्यपि उनलाई रास्वपाले सामान्य सोधपुछ गरेको बताइएको छ ।






















