images
images
  • अमेरिकी सेनाविरुद्ध इरानले स्टारलिङ्क प्रयोग गरेको दाबी

    एजेन्सी । इरानले अमेरिकी सेनाविरुद्ध सैन्य अभियान सञ्चालन गर्न अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्क प्रयोग गरेको खुलासा भएको छ । द वासिङ्टन पोस्टले शनिबार यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै उक्त समाचार सार्वजनिक गरेको हो ।

    समाचारअनुसार मार्च महिनाको पहिलो साता स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आफ्नो कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा अनधिकृत रूपमा दुई फरक पक्षले प्रयोग गरिरहेको जानकारी पाएका थिए । तीमध्ये एक इरान र अर्को अमेरिकी रक्षा विभाग रहेको बताइएको छ ।

    मस्कको टोलीले इरानले अमेरिकी सेनाविरुद्ध आफ्नो सैन्य अभियान सञ्चालन गर्न स्टारलिङ्कको प्रयोग गरिरहेको जानकारी दिएको थियो । अर्कोतर्फ, अमेरिकी सेनाले स्टारलिङ्कको सैन्य संस्करण ‘स्टारसिल्ड’ प्रयोग गरी ड्रोन उडाइरहेको थियो। तर अमेरिकी सेनाले जमिनमा आधारित गतिविधिका लागि मात्र अनुमति दिइएको सस्तो सेवा योजनामार्फत उक्त प्रणाली प्रयोग गरिरहेको एक स्रोतले नाम नखुलाउने सर्तमा बताएको छ ।

    समाचारअनुसार मार्च १ मा इरानी ड्रोनले कुवेतको पोर्ट शुऐबा क्षेत्रमा रहेको अमेरिकी सैन्य सुविधामाथि आक्रमण गरेको थियो । त्यसको केही घण्टाभित्रै स्पेसएक्सले प्रतिघण्टा १०० माइल अर्थात् करिब १६१ किलोमिटरभन्दा बढी गतिमा उड्ने विमानका लागि अनिवार्य पहिचान प्रमाणीकरणको व्यवस्था लागू गरेको थियो ।

    यस घटनाले सैन्य गतिविधिमा व्यावसायिक स्याटेलाइट इन्टरनेट सेवाको प्रयोग, प्रविधिको सुरक्षा र त्यसको अनधिकृत उपयोगसम्बन्धी प्रश्न उठाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images