काठमाडौं– कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा भएको भनिएको करोडौं रुपैयाँको आर्थिक हिनामिनाको आरोपमा नेपाल प्रहरीले सशस्त्र प्रहरीका एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विद्यालयकी लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र लिला लामा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइँदै छ ।
उनका अनुसार सशस्त्र प्रहरी मुख्यालयबाट प्राप्त उजुरी तथा अनुसन्धानको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार विद्यालयको खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत खातामार्फत कारोबार गरी करोडौं रुपैयाँ हिनामिना गरिएको आशंका गरिएको छ ।
उक्त घटनाको मुख्य योजनाकारका रूपमा लेखा प्रमुख गुरुङको संलग्नता रहेको आरोप छ ।
सशस्त्र प्रहरी मुख्यालयले यस विषयमा आन्तरिक छानबिन गरेको थियो ।
छानबिनका क्रममा आर्थिक अनियमितताको प्रारम्भिक आधार भेटिएपछि थप कानुनी अनुसन्धान र मुद्दा दर्ताका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई आवश्यक कारबाही गर्न पत्राचार गरिएको स्रोतले जनाएको छ ।
गुरुङ विगत करिब छ वर्षदेखि उक्त विद्यालयमा लेखा प्रमुखका रूपमा कार्यरत रहेकी थिइन् ।
अनुसन्धानका क्रममा यो प्रकरणमा सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत महेन्द्र हमाल समेत छानबिनको दायरामा परेका छन् ।
प्रहरीले घटनासम्बन्धी वित्तीय कारोबार, बैंक विवरण तथा अन्य कागजातहरूको परीक्षण गर्दै हिनामिनाको वास्तविक रकम र संलग्न व्यक्तिहरूको भूमिकाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।






















