काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ मध्ये करिब एकतिहाइ मात्रै कार्यान्वयनमा आएको देखिएको छ ।
सरकारी निर्णय, कार्यान्वयन अवस्था तथा प्रगति विवरणको विश्लेषणअनुसार हालसम्म ३८ बुँदा कार्यान्वयनमा पुगेका छन् भने ६२ बुँदा अझै अधुरा छन् ।
सरकार गठन भएकै दिन गत १३ चैत सार्वजनिक गरिएको कार्यसूचीमा २४ घण्टादेखि १,००० दिनभित्र पूरा गर्ने लक्ष्यसहित सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, सुशासन, भ्रष्टाचार नियन्त्रण, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र आर्थिक सुधारका कार्यक्रम समेटिएका थिए ।
केही क्षेत्रमा उल्लेखनीय उपलब्धि देखिए पनि अधिकांश प्रतिबद्धता अझै कार्यान्वयनको चरणमै पुग्न सकेका छैनन् ।
परराष्ट्रमन्त्री शिशिर खनाल ले सरकार प्रारम्भिक चरणमै सुशासन र सेवा सुधारमा सकारात्मक सन्देश दिन सफल भएको दाबी गरेका छन् ।
उनका अनुसार अघिल्ला सरकारको तुलनामा अहिलेको सरकारले क्षमता, प्रतिबद्धता र जनमुखी कार्यशैली प्रस्तुत गरेको छ ।
सहकारी बचत फिर्तादेखि डिजिटल सेवासम्म प्रगति
कार्यसूचीको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिमध्ये समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्ने कार्यक्रम रहेको छ ।
सरकारले पहिलो चरणमा १० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई रकम फिर्ता सुरु गरिसकेको छ ।
हालसम्म १ हजार ८९५ जना बचतकर्ताले ४ करोड ४३ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता पाएका छन् ।
सबै राजनीतिक दलका घोषणापत्रको अध्ययन गरी १८ बुँदे साझा राष्ट्रिय प्रतिबद्धता तयार पारिएको छ ।
तोकिएको समयभन्दा केही ढिलो भए पनि सरकारले यसलाई राष्ट्रिय विकासका साझा एजेन्डा निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ ।
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई राहत वितरण, घाइतेलाई आर्थिक सहायता, मन्त्रालय पुनर्संरचना, सार्वजनिक जग्गा संरक्षण अभियान, दलीय ट्रेड युनियन खारेज तथा सम्पत्ति छानबिन आयोग गठनजस्ता प्रतिबद्धतामा पनि सरकारले केही प्रगति हासिल गरेको जनाएको छ ।
डिजिटल शासनमा केही उपलब्धि
सरकारले २४ घण्टे नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली, हेलो सरकारको रियल–टाइम ड्यासबोर्ड, राहदानी घरमै पुर्याउने सेवा, नागरिक एपमार्फत विभिन्न प्रमाणपत्र डाउनलोड गर्ने सुविधा तथा अटोफिल प्रणाली विस्तारलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।
लामो समयदेखि रोकिएका सवारी चालक अनुमतिपत्र छपाइले पनि गति लिएको छ ।
कम्पनी दर्ता, पान दर्ता तथा उद्योग सञ्चालनसम्बन्धी सेवामा ‘वन डोर बिजनेस प्लेटफर्म’ लागू गरिएको छ भने स्टार्टअप व्यवसाय दर्ता दुई कार्यदिनभित्र सम्पन्न गर्ने व्यवस्था सुरु गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा संघीय अस्पतालमा जलन उपचार वार्ड विस्तार, सुलभ फार्मेसी सञ्चालन तथा विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर कार्यान्वयन पनि प्रगतिका सूचकका रूपमा उल्लेख गरिएको छ ।
धेरै प्रतिबद्धता अझै अपूरा
सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने, नागरिक सेवा केन्द्र विस्तार गर्ने, डिजिटल गभर्नेन्स नीति लागू गर्ने, व्यक्तिगत डेटा संरक्षण कानुन ल्याउने, सूचना प्रविधि नियामक निकाय स्थापना गर्ने तथा विद्युतीय शासनसम्बन्धी कानुन निर्माण गर्ने प्रतिबद्धता गरे पनि ती अधिकांश काम अझै अघि बढ्न सकेका छैनन् ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सेवा एकीकृत गर्ने, नागरिक एपमार्फत थप सरकारी सेवा उपलब्ध गराउने तथा जिल्ला प्रशासनका सेवा अन्तरजिल्लाबाटै प्राप्त गर्न सकिने व्यवस्था पनि कार्यान्वयन हुन बाँकी छ ।
सार्वजनिक यातायातमा सीसीटीभी, ड्यासक्यामेरा र आपत्कालीन सुरक्षा प्रणाली अनिवार्य गर्ने घोषणा पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।
कृषि र पुनःस्थापनामा कमजोर प्रदर्शन
कृषि सुधार, न्यूनतम समर्थन मूल्य, किसानको उधारो भुक्तानी, चिस्यान केन्द्र निर्माण र कृषि बजार व्यवस्थापनका कार्यक्रम अपेक्षाअनुसार अघि बढ्न सकेका छैनन् ।
कृषिमा निर्भर ठूलो जनसंख्यालाई लक्षित कार्यक्रम सुस्त गतिमा रहेको देखिन्छ ।
जेन–जी आन्दोलनबाट प्रभावित व्यवसायलाई राहत तथा पुनःस्थापना प्याकेज, कर छुट, सहुलियतपूर्ण ऋण र पुनर्निर्माण सहयोगसम्बन्धी प्रतिबद्धता पनि कार्यान्वयनको प्रतीक्षामै छन् ।
कार्यान्वयनभन्दा घोषणा धेरै
दलित समुदायसँग राज्यका तर्फबाट औपचारिक क्षमायाचना गर्ने घोषणा व्यवहारमा रूपान्तरण हुन सकेको छैन ।
पर्यटन विकास, सहरी सुधार, डिजिटल सेवा विस्तार, नागरिक सेवा केन्द्रमा अपोइन्टमेन्ट प्रणाली, सूचना प्रविधिसम्बन्धी कानुनी सुधार तथा विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति देखिएको छैन ।
सरकारले १०० बुँदे कार्यसूचीलाई सुशासन र सेवा सुधारको आधार दस्तावेजका रूपमा प्रस्तुत गरे पनि हालसम्मको अवस्था हेर्दा एकतिहाइ मात्रै कार्यान्वयनमा पुगेको छ भने अधिकांश प्रतिबद्धता अझै घोषणामै सीमित देखिएका छन् ।
आगामी दिनमा बाँकी ६२ बुँदाको प्रभावकारी कार्यान्वयन नै सरकारको कार्यक्षमताको मुख्य परीक्षा हुने देखिन्छ ।






















