धनगढी– गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका पत्रकार खेम भण्डारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेपछि बिहीबार कारागार चलान गरिएको छ ।
अदालतले तोकेको एक महिना ७ दिन कैद र १२ हजार रुपैयाँ जरिवानाको सजाय कार्यान्वयनका लागि उनलाई कारागार पठाइएको हो ।
कारागार चलान हुनुअघि भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिम रकम बुझाएर कैद मिलान गरिपाउँ भन्दै कानुन व्यवसायीमार्फत जिल्ला अदालत कञ्चनपुरमा निवेदन दिएका थिए ।
तर न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त माग अस्वीकार गरेपछि उनलाई कारागार पठाइएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए ।
ओझाका अनुसार दफा १५५ अन्तर्गतको सुविधा पहिलोपटक कैद सजाय पाएका व्यक्तिका हकमा मात्र लागू हुने कानुनी व्यवस्था छ ।
भण्डारी यसअघि पनि एक मुद्दामा कैद सजाय पाइसकेकाले उनलाई उक्त सुविधा उपलब्ध गराउन नमिल्ने अदालतको निष्कर्ष रहेको उनले बताए ।
भण्डारी यसअघि पनि निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित अर्को मुद्दामा एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय पाइसकेका थिए ।
पछिल्लो मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते भण्डारीलाई गाली बेइज्जती कसुरमा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो ।
त्यसपछि उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले थप ७ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना कायम गरेपछि अन्तिम सजाय एक महिना ७ दिन कैद र १२ हजार रुपैयाँ जरिवाना पुगेको हो ।
यो मुद्दा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित समाचारका कारण उत्पन्न भएको हो ।
तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) दिल्लीराज विष्टका छोरा किरण विष्टले आफूलाई तथ्यहीन रूपमा घटनासँग जोडेर समाचार प्रकाशन गरिएको आरोप लगाउँदै भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।
किरण विष्ट हाल राष्ट्रिय समाचार समितिमा पत्रकारका रूपमा कार्यरत छन् ।
विसं. २०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भन्दै घरबाट निस्किएकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका–२ स्थित निम्बुखेडा खोलाको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।






















