काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले अमेरिकी दैनिक न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टलाई पूर्णरूपमा अस्वीकार गरेको छ ।
उक्त रिपोर्टमा इजरायलले इरानका वरिष्ठ वार्ताकारहरूलाई निशाना बनाउन सक्ने आशंका अमेरिकाले व्यक्त गरेको दाबी गरिएको थियो ।
न्युयोर्क टाइम्सले वर्तमान तथा पूर्वअमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले इरानी विदेशमन्त्री अब्बास अराघची र संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफको सुरक्षाबारे चिन्ता व्यक्त गरेको उल्लेख गरेको थियो ।
रिपोर्टअनुसार अमेरिकाले मध्यस्थकर्ता मुलुकहरूमार्फत इरानलाई सम्भावित जोखिमबारे अप्रत्यक्ष रूपमा सचेत गराएको दाबी गरिएको छ ।
तर, इजरायली प्रधानमन्त्री कार्यालयले एक्समार्फत प्रतिक्रिया दिँदै उक्त समाचारलाई फेक न्यूज र पूर्णतः मनगढन्ते भन्दै खारेज गरेको छ ।
कार्यालयले इरानी वार्ताकारहरूलाई लक्षित गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।


विश्व खबर 




















