काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
बैठकमा प्रमुख निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि सिफारिसबारे छलफल हुने जनाइएको छ ।
हाल ११ वटा संवैधानिक निकायमा गरी २३ पदाधिकारीको पद रिक्त छ ।
तीमध्ये निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारू आयोग, मधेसी आयोग र मुस्लिम आयोग नेतृत्वविहीन छन् ।
संविधानको धारा २८४(३) अनुसार कुनै पनि संवैधानिक पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि उक्त प्रावधान लामो समयदेखि कार्यान्वयन हुन सकेको छैन ।
सरकारले वैशाखमा ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्रीसहित चार सदस्य उपस्थित भए गणपूरक संख्या पुग्ने र तीन सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।
उक्त अध्यादेश असार २७ भित्र संघीय संसद्बाट अनुमोदन हुनुपर्ने भएकाले निष्क्रिय हुनुअघि नै सरकारले नियुक्ति प्रक्रिया अघि बढाउन परिषद्को बैठक बोलाएको हो ।






















