images
images
  • सिरहामा प्रहरीमाथि गोलि प्रहारः एक भारतीय पक्राउ, तीन फरार

    काठमाडौं- लागू औषध नियन्त्रण ब्युरोले सिराहामा हेरोइन कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउका क्रममा ती व्यक्तिले प्रहरी टोलीमाथि कटुवा पेस्तोलबाट गोली चलाएपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गरेको जनाएको छ ।

    लागू औषध नियन्त्रण ब्युरोका अनुसार भारतबाट नेपालमा हेरोइन आपूर्ति गर्ने गिरोहको निगरानी गर्ने क्रममा भारतको लालबन्दिया नाकाबाट सिराहा हुँदै काठमाडौं उपत्यकासम्म लागू औषध ल्याउने समूहको पहिचान गरिएको थियो । त्यसका आधारमा ब्युरोको सिराहा शाखा र इलाका प्रहरी कार्यालय महेशपुर, सिराहाको संयुक्त टोलीले असार १९ गते सिराहाको नवराजपुर गाउँपालिका–५ मा अपरेशन सञ्चालन गरेको थियो ।

    प्रहरीका अनुसार चार जनाको समूहले हेरोइन कारोबार गरिरहेको अवस्थामा पक्राउ गर्न खोज्दा गिरोहका एक सदस्यले कटुवा पेस्तोलबाट प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेका थिए । त्यसपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउन्ड हवाई फायर गर्दै आत्मसमर्पण गर्न चेतावनी दिएको थियो । चेतावनीलाई बेवास्ता गरेपछि प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका थिए भने अन्य तीन जना फरार भएका छन् ।

    घाइते हुने व्यक्ति भारतको मधुबनी जिल्ला, बिहारस्थित बिरपुर गाउँ पञ्चायत–३ निवासी करिब ३५ वर्षीय अब्दुल कलाम रहेको ब्युरोले जनाएको छ । उनको दायाँ खुट्टाको घुँडामुनि गोली लागेको र हाल प्रदेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ ।

    घटनास्थलबाट प्रहरीले ११५ ग्राम २० मिलिग्राम हेरोइन, एक थान कटुवा पेस्तोल, एक राउन्ड गोली तथा एक थान मोबाइल फोन बरामद गरेको छ ।

    फरार रहेका अन्य तीन जनाको खोजी कार्य तीव्र रूपमा जारी रहेको र पक्राउ परेका भारतीय नागरिकमाथि लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

    प्रहरीले सीमावर्ती क्षेत्र हुँदै नेपालमा लागू औषध भित्र्याउने गिरोहविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको पनि उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images