काठमाडौं– नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहबाट सुरु हुने ‘बटम–अप’ मोडलमा कार्यगत एकताको गृहकार्य अघि बढाएका छन् ।
२०७५ सालको शीर्ष तहबाट भएको एकता टिक्न नसकेको अनुभवपछि यसपटक वडा, पालिका र जिल्लास्तरबाट सहकार्य गर्दै क्रमशः केन्द्रसम्म पुग्ने रणनीति बनाइएको हो ।
यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नियमित संवाद भइरहेको छ भने दुवै दलले दोस्रो तहका नेतामार्फत सम्भावित सहकार्यको मोडालिटीमा छलफल गरिरहेका छन् ।
प्रस्तावअनुसार स्थानीय कमिटीलाई गठबन्धन, चुनावी सहकार्य र कार्यगत एकताको अधिकार दिइनेछ। दुवै पक्षका नेताहरूका अनुसार स्थानीय आवश्यकताअनुसार सम्बन्ध सुदृढ भएपछि मात्रै औपचारिक एकतातर्फ अघि बढ्ने सोच छ ।
यद्यपि, नेतृत्व प्रणाली, विगतको एकता विघटनबाट सिक्नुपर्ने पाठ र दुवै दलभित्रका आन्तरिक समस्याको समाधान नगरी हतारमा एकतामा जान नहुने मत पनि नेताहरूले व्यक्त गरेका छन् ।






















