images
images
  • रूसी मिसाइल आक्रमणमा ३० युक्रेनीको मृत्यु, ९१ घाइते

    काठमाडौं– युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेहरुको सङ्ख्या कम्तिमा ३० जना पुगेको जनाइएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले निश्चित रूपमा यो आक्रमणको बदला लिने बताएका छन् ।

    यसैबीच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्को माथि नयाँ प्रतिबन्धहरू प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रियट एयर–डिफेन्स मिसाइलहरू निर्माण गर्ने इजाजतपत्रका लागि दबाब दिएका छन् ।

    संयुक्त राष्ट्रसङ्घका प्रमुख महासचिव एन्टोनियो गुटेरेसले विनासकारी रूसीको आक्रमणको निन्दा गर्दै युद्धविरामको आह्वान गरेका छन् ।

    नागरिक र नागरिक पूर्वाधार माथि आक्रमणहरू अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन भन्दै उहाँले यसलाई तुरुन्तै रोक्नुपर्ने बताएको उनका प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरेका छन् ।

    यद्यपी क्रेमलिनले आफ्नो कुनै सम्झौता नगर्ने दावी गर्दै किएभ माथि दबाब बढाउने प्रतिवद्धता गरेको छ ।

    सहरको केन्द्रमा रहेका आवासीय क्षेत्रमा रूसी क्षेप्यास्त्र तथा ड्रोनको वर्षा पछि विस्फोटको प्रतिध्वनित हुन थालेको जनाइएको छ ।

    मेयर भिटाली क्लिट्स्कोले यसलाई राजधानीमा रूसको सबैभन्दा ठुलो आक्रमण भनेर वर्णन गरेका छन् ।

    युक्रेनको राज्य आपतकालीन सेवाले उक्त आक्रमणमा ३० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले ९१ जना घाइते भएको बताएका छन् ।

    रेड क्रसको युक्रेनी शाखाले यसको मुख्य गोदाम नष्ट भएको र करिब २० लाख डलरको मानवीय सहायता गुमेएको बताएको छ ।

    आक्रमणले कूटनीतिज्ञहरू बस्ने भवनलाई पनि क्षति पुगेको बताउदै ईयूकी प्रवक्ता अनिट्टा हिप्परले कूटनीतिज्ञहरू भने सुरक्षित रहेको उल्लेख गरेका छन् ।

    क्रिवी रिगमा, मिसाइलले प्रहार गर्दा दुई जना घाइते भएको केन्द्रीय सहरको सैन्य प्रशासनका प्रमुखले बताएका छन् ।

    किएभले आफ्ना सहयोगीहरूलाई थप हवाई सुरक्षा पठाउन आग्रह गरेको छ ।

    युक्रेनले अमेरिकामा निर्मित मिसाइल इन्टरसेप्टर प्रणालीका लागि हतियार उत्पादन गर्न चाहन्छ, तर रक्षा विज्ञहरूले घरेलु रूपमा उत्पादन स्थापना गर्न समय लाग्ने बताएका छन् ।

    युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले आक्रमणलाई लिएर मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गर्ने बताएका छन् ।

    आसन्न रूसी हमलाको गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले बुधबार डब्लिनको भ्रमण गरे पछि यो आक्रमण भएको हो ।

    जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही समयदेखि युक्रेनविरुद्ध ठूलो आक्रमणको तयारी गरिरहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images