काठमाडौं– लामो समयदेखि निष्क्रिय रहेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले नेपाल दूरसञ्चार प्राधिकरणमा नयाँ निवेदन दर्ता गर्दै पुनः सञ्चालनको प्रयास थालेको छ ।
तर कम्पनीले नियमअनुसार तिर्नुपर्ने दस्तुर, रोयल्टी र अन्य बक्यौता भने अझै नबुझाएको प्राधिकरण स्रोतले जनाएको छ ।
प्राधिकरणका अनुसार युटिएलले करिब तीन महिनाअघि निवेदन दर्ता गराए पनि बक्यौता नतिरेकाले त्यसमा कुनै प्रक्रिया अघि बढाइएको छैन ।
कानुनअनुसार सरकारी राजस्व तथा नियामकीय शुल्क नतिरी कम्पनीको मागमाथि निर्णय गर्न नमिल्ने अवस्था रहेको अधिकारीहरूको भनाइ छ ।
सरकारले तेस्रो दूरसञ्चार सेवा प्रदायक भित्र्याउने विषयमा बहस गरिरहेका बेला युटिएलको सक्रियता देखिएको हो ।
तर अनुमतिपत्र नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषबापत कम्पनीको ५ अर्ब ३० करोड ९४ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
सन् २००१ मा स्थापना भएको युटिएलले नेपालमा पहिलोपटक सीडीएमए प्रविधिमा आधारित सेवा सञ्चालन गरेको थियो ।
तर प्रविधि परिवर्तन गर्न नसक्दा र आर्थिक दायित्व बढ्दै गएपछि कम्पनी बजारबाट लगभग गायब भएको थियो ।
गत वर्ष प्राधिकरणले नवीकरण नगरेको भन्दै युटिएलको इन्टरनेट सेवा इजाजतपत्र समेत खारेज गरिसकेको छ ।
बक्यौता चुक्ता नगरेसम्म युटिएलको पुनरागमन प्रक्रिया कानुनी रूपमा अघि बढ्न नसक्ने प्राधिकरणको स्पष्ट अडान छ ।






















