काठमाडौं– सरकारको सयदिने कार्यकाल पूरा भएपछि विपक्षी दलहरूले सरकार लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
उनीहरूले सरकार स्टन्टबाजी, प्रतिशोधपूर्ण राजनीति, संसद्प्रति गैरजिम्मेवारी र संवादहीनतामा केन्द्रित भएको दाबी गरेका छन् ।
प्रमुख विपक्षी दल कांग्रेसदेखि एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले सरकारका सय दिन उपलब्धिविहीन रहेको, सुशासनको नाममा राजनीतिक पूर्वाग्रह र अनावश्यक धरपकड गरिएको तथा जनतामा निराशा बढेको बताएका छन् ।
उनीहरूले सरकारको कार्यशैलीले लोकतान्त्रिक अभ्यास कमजोर बनाएको र मुलुकलाई नयाँ राजनीतिक द्वन्द्वतर्फ धकेल्ने चेतावनीसमेत दिएका छन् ।
कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीले सरकारको सय दिन ूस्टन्टमै बितेकोू टिप्पणी गर्दै जनतामा निराशा फैलिएको बताए ।
एमालेका नीरज आचार्यले सरकारले विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको आरोप लगाए भने नेकपाका प्रकाश ज्वालाले जनअपेक्षाअनुसार परिणाममुखी काम हुन नसकेको बताए ।
श्रम संस्कृति पार्टीका आरेन राईले सरकारको बोली र व्यवहारमा एकरूपता नरहेको उल्लेख गरे भने राप्रपाका मोहन श्रेष्ठले सरकार विपक्षीसँग संवाद नगरी एकलौटी ढंगले अघि बढेको आरोप लगाए ।
यता, राजनीतिक विश्लेषकहरूको मूल्यांकन भने मिश्रित छ ।
राजनीतिशास्त्री कृष्ण पोखरेलले सरकारले काम गर्ने इच्छाशक्ति देखाए पनि संविधान संशोधनको विषयमा देखिएको अलमलले नकारात्मक सन्देश गएको बताए ।
उनका अनुसार सरकारले लोकतन्त्र कमजोर पार्ने नियतभन्दा प्रणाली सुधारको प्रयास गरिरहेको देखिन्छ ।
तर राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले सरकार अपेक्षाअनुसार परिणाम दिन नसकेको र संविधान संशोधनको बहस पर्याप्त तयारी र सहमतिविनै अघि बढाउँदा नयाँ राजनीतिक द्वन्द्व निम्तिन सक्ने चेतावनी दिए ।
साथै, प्रधानमन्त्री संसद्प्रति पर्याप्त उत्तरदायी नदेखिएको र समानान्तर प्रशासनिक संयन्त्र निर्माणका प्रयासले थप आशंका जन्माएको उनको टिप्पणी छ ।






















