images
images
  • सरकार र रास्वपाले बढायो राष्ट्रपति पौडेलमाथि राजीनामाको दबाब

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलमाथि राजीनामा दिन दबाब परेको भन्ने दाबी सार्वजनिक भएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।

    नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा यस्तो दाबी गरेपछि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री नेतृत्वको सरकारबीचको सम्बन्ध तथा पछिल्ला राजनीतिक घटनाक्रम चर्चाको विषय बनेका हुन् ।

    यद्यपि, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री सचिवालयले भने राष्ट्रपतिमाथि कुनै प्रकारको दबाब सिर्जना गरिएको भन्ने दाबी अस्वीकार गरेका छन् ।

    विराटनगरमा १४ असारमा आयोजित कार्यक्रममा प्रचण्डले रास्वपा नेतृत्वको सरकारले राष्ट्रपतिमाथि दबाब सिर्जना गरेको आफूले सुनेको दाबी गरेका थिए ।

    उनले संविधान संशोधनका विषयलाई समेत जोड्दै राष्ट्रपतिलाई पद छाड्न दबाब दिइएको चर्चा भइरहेको बताएका थिए ।

    चार दिनपछि पोखरामा आयोजित अर्को कार्यक्रममा उनले प्रत्यक्ष रूपमा राष्ट्रपतिलाई हटाउने विषय उल्लेख नगरे पनि जेन–जी आन्दोलनपछिको राजनीतिक गतिविधिबारे संकेतपूर्ण अभिव्यक्ति दिएका थिए ।

    प्रचण्डका यी अभिव्यक्तिपछि सरकार र राष्ट्रपति कार्यालयबीचको सम्बन्धबारे विभिन्न राजनीतिक विश्लेषण हुन थालेका छन् ।

    विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपति पौडेलबीच नियमित संवाद हुन नसकेको विषयलाई लिएर प्रश्न उठिरहेका छन् ।

    सरकार गठन भएको झन्डै सय दिन पुग्न लाग्दा प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग औपचारिक कार्यक्रमबाहेक छुट्टै शिष्टाचार भेट नगरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार औपचारिक समारोहमा सामान्य अभिवादनबाहेक दुई नेताबीच विस्तृत छलफल भएको छैन ।

    संसदीय अभ्यासअनुसार संसद् अधिवेशन आह्वान वा अन्त्य, अध्यादेश जारी गर्ने तथा अन्य संवैधानिक विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई नियमित रूपमा जानकारी गराउने परम्परा रहँदै आएको छ ।

    तर वर्तमान सरकार गठनयता यस्तो अभ्यास न्यून देखिएको भन्दै राजनीतिक वृत्तमा टिप्पणी भइरहेको छ ।

    यसबीच सरकारका केही निर्णय पनि चर्चामा आएका छन् ।

    दरबार हत्याकाण्ड पुनः अनुसन्धान गर्ने गृह मन्त्रालयको निर्णय, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिएको घटना तथा गणतन्त्र दिवसमा राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएका घटनालाई लिएर विभिन्न राजनीतिक व्याख्या भएका छन् ।

    यद्यपि सरकारले यी घटनालाई राष्ट्रपतिमाथि दबाब सिर्जना गर्ने प्रयाससँग जोड्न अस्वीकार गरेको छ ।

    राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिलाई राजीनामा दिन कुनै औपचारिक वा अनौपचारिक दबाब आएको भन्ने दाबी सही नभएको बताए ।

    उनले प्रधानमन्त्री र राष्ट्रपतिबीच नियमित भेट नभएको स्वीकार गरे पनि त्यसलाई अस्वाभाविक रूपमा व्याख्या गर्न नहुने बताए ।

    उता प्रधानमन्त्री सचिवालयका एक सदस्यले पनि सरकारले राष्ट्रपतिको संस्थागत मर्यादामा आँच पुर्‍याउने कुनै उद्देश्य नरहेको दाबी गरे ।

    उनका अनुसार सरकार सुशासन, सेवा प्रवाह र नीतिगत सुधारमा केन्द्रित रहेकाले नियमित भेट नभएको विषयलाई अनावश्यक रूपमा राजनीतिक रंग दिइएको हो ।

    यस विषयमा राजनीतिक विश्लेषकहरू भने राष्ट्रप्रमुख र सरकार प्रमुखबीच नियमित संवाद लोकतान्त्रिक शासन प्रणालीको महत्त्वपूर्ण अभ्यास भएकाले संवादहीनता लामो समय रहनु उचित नहुने बताउँछन्। उनीहरूका अनुसार सरकार र राष्ट्रपति कार्यालयबीच देखिएको दूरीलाई संवादमार्फत समाधान गर्नु संस्थागत स्थायित्वका लागि आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images