काठमाडौं– यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर दुई प्रतिशतले घटाउने निर्णय गरेको छ ।
विभागका अनुसार इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाडा समायोजन गरिएको हो । हाल डिजेलको औसत मूल्य प्रतिलिटर रु १९३.८३ कायम भएको छ, जुन पहिले रु २३५.८३ रहेको थियो ।
यसअघि इन्धन मूल्य वृद्धि हुँदा यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा अधिकतम पाँच प्रतिशतसम्म बढाइएको थियो । त्यसबेला पूर्ण रूपमा समायोजन नभएकाले हालको मूल्य घटाइलाई समेत समेट्दै दुई प्रतिशतले भाडा घटाइएको विभागले जनाएको छ ।
नयाँ दरअनुसार यात्रुवाहक सवारी, पहाडी मार्गका मालवाहक सवारी तथा तराईका मालवाहक सवारी सबैमा भाडा दुई प्रतिशतले घट्नेछ। उक्त निर्णय असार १८ गतेदेखि लागू हुने र दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय रूटका सार्वजनिक यातायातमा कार्यान्वयन हुने विभागले जनाएको छ ।






















