images
images
  • नेपाली ब्रो हत्या प्रकरणः विवाहेत्तर सम्बन्ध र दाम्पत्य विवाद हत्याको कारण

    काठमाडौं- टिकटकमा नेपाली ब्रो नामबाट परिचित कुमार थापा मगरले पत्नी तथा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या गर्नुको मुख्य कारण विवाहेत्तर सम्बन्ध र लामो समयदेखिको दाम्पत्य विवाद रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको अभियोगपत्रअनुसार कुमारको प्रतिक्षा आचार्यसँगको प्रेम सम्बन्धका कारण श्रीमान्–श्रीमतीबीच पटक–पटक विवाद, कुटपिट र मानसिक तनाव बढ्दै गएको थियो । ईश्वरीले वैवाहिक बलात्कार तथा सम्बन्धविच्छेदको मुद्दासमेत दायर गरेपछि सम्बन्ध थप बिग्रिएको अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीका अनुसार २२ जेठ राति काठमाडौंको तारकेश्वर–६ पैयुटारमा ड्युटी सकेर घर फर्किंदै गरेकी ईश्वरीमाथि कुमारले पूर्वयोजना अनुसार धारिलो हतियार प्रहार गरेका थिए । घटनापछि पक्राउ परेका कुमारले अनुसन्धानका क्रममा हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनास्थलको सीसीटीभी फुटेज, कल डिटेल र बरामद गरिएको चक्कुलाई प्रहरीले प्रमाणका रूपमा पेस गरेको छ ।

    अनुसन्धानमा सामाजिक सञ्जालमा बढ्दो लोकप्रियतासँगै कुमारको अन्य युवतीहरूसँगको निकटताले पारिवारिक सम्बन्धमा दरार आएको देखिएको उल्लेख छ । अभियोगपत्रमा प्रतिक्षा आचार्यलाई पनि घटनामा प्रतिवादी बनाउन माग गरिएको छ ।

    प्रहरीका अनुसार घटनाको अनुसन्धान पूरा गरी दुवै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरिएको छ भने घटनाबारे न्यायिक प्रक्रिया अघि बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images