काठमाडौं- सर्वोच्च अदालतमा तीन न्यायाधीशको पद लामो समयदेखि रिक्त रहे पनि नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । २१ जना न्यायाधीशको दरबन्दी रहेको सर्वोच्चमा हाल १८ जना मात्रै कार्यरत छन् । त्यसमध्ये पनि न्यायाधीश तिलप्रसाद श्रेष्ठ स्वास्थ्य समस्याका कारण करिब तीन महिनादेखि बिदामा रहेकाले अदालतको नियमित कार्यसम्पादन थप प्रभावित भएको छ ।
न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक निकाय न्याय परिषद्को अध्यक्ष स्वयं प्रधानन्यायाधीश मनोजकुमार शर्मा भए पनि अहिलेसम्म नियुक्ति प्रक्रिया अघि बढाउने कुनै औपचारिक पहल भएको छैन । यसले सर्वोच्च अदालतमा बढ्दो मुद्दाको चाप र न्याय सम्पादनमा भइरहेको ढिलाइप्रति प्रश्न उठेको छ ।
प्रधानन्यायाधीशमा सिफारिस भएपछि गत ५ जेठमा भएको संसदीय सुनुवाइका क्रममा शर्माले सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त हुनुअघि नै नियुक्ति गर्ने परम्परा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोही दिन संसदीय सुनुवाइबाट अनुमोदित भएर प्रधानन्यायाधीश नियुक्त हुनुभएका शर्माले पदभार सम्हालेको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि न्यायाधीश नियुक्तिको प्रक्रिया भने सुरु हुन सकेको छैन ।
न्याय परिषद् ऐन, २०७३ को दफा ४ अनुसार उमेर हदका कारण रिक्त हुने सर्वोच्च अदालतका न्यायाधीशको पद कम्तीमा एक महिनाअघि नै पूर्ति गर्न सिफारिस गर्नुपर्ने व्यवस्था छ । अन्य कारणबाट पद रिक्त भएमा भने एक महिनाभित्र नियुक्तिका लागि सिफारिस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।
तर, हाल तीन पद रिक्त भइसक्दा पनि परिषद्ले नियुक्ति प्रक्रिया अघि नबढाएको देखिन्छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय परिषद्मा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कानुनमन्त्री सोविता गौतम, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त सदस्य महेशकुमार नेपाल तथा नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त सदस्य दामोदर खड्का सदस्य छन् ।
प्रधानन्यायाधीश शर्मा नियुक्त भएयता परिषद्को बैठक नै बस्न नसकेको स्रोतहरूको भनाइ छ । परिषद्का कार्यवाहक सचिव रामप्रसाद भण्डारीले तत्काल बैठक बस्ने कुनै मिति तय नभएको जानकारी दिएका छन् । परिषद्का एक सदस्यका अनुसार प्रधानन्यायाधीशले बैठक बोलाउन नसक्दा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।
न्याय परिषद्ले पछिल्लोपटक २७ जेठ २०८२ मा मेघराज पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । त्यसपछि पनि एक पद रिक्त नै थियो। त्यसयता न्यायाधीश कुमार चुडाल र प्रकाशमानसिंह राउत क्रमशः ९ कात्तिक र १८ चैत २०८२ मा अवकाशमा गए।
तीनवटै पद लामो समयदेखि रिक्त रहँदा पनि नयाँ नियुक्तिका लागि परिषद्बाट कुनै निर्णय हुन नसकेको हो।
स्रोतका अनुसार वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीश शर्माबीच आवश्यक समन्वय हुन नसक्दा पनि न्याय परिषद्को बैठक प्रभावित भएको बताइन्छ ।
सर्वोच्च अदालतमा जेठ मसान्तसम्म २७ हजार ७३९ मुद्दा विचाराधीन छन् । तीमध्ये दुई वर्षभन्दा पुराना १० हजार २३४ तथा पाँच वर्षभन्दा पुराना एक हजार ४४२ मुद्दा रहेका छन् ।
कानुन व्यवसायीहरूका अनुसार न्यायाधीशको अभावका कारण मुद्दा फर्स्योटको गति प्रभावित हुँदै आएको छ । सर्वोच्च अदालतले विगत साढे तीन वर्षदेखि दरबन्दीअनुसार पूर्ण संख्या पाउन सकेको छैन ।
सर्वोच्च अदालतले नै न्यायाधीश नियुक्तिसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था पालना गर्न न्याय परिषद्का नाममा परमादेश जारी गरिसकेको छ ।
गत १८ जेठमा न्यायाधीश हरिप्रसाद फुँयाल र विनोद शर्माको संयुक्त इजलासले सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति समयमै गर्नुपर्ने कानुनी व्यवस्थाको पालना गर्न आदेश दिएको थियो । उक्त आदेशमा नियुक्ति प्रक्रियालाई वस्तुनिष्ठ, पारदर्शी र समयबद्ध रूपमा कार्यान्वयन गर्नु परिषद्का पदाधिकारीहरूको बाध्यात्मक जिम्मेवारी भएको उल्लेख छ।
तर, आदेश जारी भएको करिब एक महिना बित्न लाग्दा पनि न्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढ्दा सर्वोच्च अदालतले आफ्नै आदेश कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी हुन थालेको छ।






















