images
images
  • वरुण बेभरेजको पेय पदार्थ सेभेन-अपमा भेटियो प्लास्टिक !

    काठमाडौं-अखाद्य तथा गुणस्तरहीन वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योगमाथि कडा कारबाही गरिने गृह मन्त्रालयको पछिल्लो चेतावनी सार्वजनिक भएको केही समयमै नेपालमा उत्पादन भएको सेभेन अपको सिलबन्दी बोतलभित्र प्लास्टिक भेटिएको दाबी सार्वजनिक भएको छ । घटनापछि वरुण बेभरेज नेपाल प्रालिले उत्पादन गर्ने पेय पदार्थको गुणस्तर र उत्पादन प्रक्रियामाथि पुनः प्रश्न उठेको छ ।

    बजारबाट खरिद गरिएको सिलबन्दी बोतलभित्र प्लास्टिक देखिएको दाबी सार्वजनिक भएपछि उपभोक्ता, अधिकारकर्मी तथा सम्बन्धित निकायको ध्यान यसतर्फ तानिएको छ । यसअघि पनि यही कम्पनीका उत्पादन पेप्सी र माउन्टेनडिउमा किरा तथा अन्य बाह्य पदार्थ भेटिएको भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विभिन्न दाबी सार्वजनिक भएका थिए । यस्ता प्रकृतिका गुनासा पटक–पटक दोहोरिनुले कम्पनीको गुणस्तर नियन्त्रण प्रणाली, उत्पादन प्रक्रिया तथा उपभोक्ताप्रतिको जिम्मेवारीबारे प्रश्न उठ्न थालेको छ ।

    उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरूका अनुसार खाद्य तथा पेय पदार्थमा एकपटक त्रुटि देखिनुलाई सामान्य कमजोरी मान्न सकिए पनि एउटै कम्पनीका विभिन्न उत्पादनसँग सम्बन्धित यस्ता गुनासा निरन्तर आउनु गम्भीर विषय हो । उनीहरूले यसले उत्पादन प्रक्रियाको स्वच्छता, गुणस्तर परीक्षण प्रणाली तथा नियामक निकायको अनुगमन प्रभावकारितामाथि समेत प्रश्न खडा गरेको बताएका छन् ।

    उपभोक्ताहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सम्बन्धित बोतलको नमुना परीक्षण गरी घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार घटनाको वैज्ञानिक परीक्षण, उत्पादन प्रक्रियाको निरीक्षण तथा आवश्यक परे कानुनी कारबाही हुनुपर्छ ।

    यता वरुण बेभरेज नेपाल प्रालिका वितरण विभाग प्रमुख अनिस पौडेलले भने सम्बन्धित बोतल परीक्षण नगरी कुनै निष्कर्षमा पुग्न नसकिने प्रतिक्रिया दिए । बोतल नै परीक्षण नगरी केही भन्न सकिँदैन । त्यसअघि टिप्पणी गर्नु उपयुक्त हुँदैन् उनले भने ।

    यद्यपि, यसअघि सार्वजनिक भएका यस्तै प्रकृतिका घटनापछि कम्पनीले गुणस्तर सुधारका लागि के–कस्ता सुधारात्मक कदम चालेको छ भन्ने विषयमा भने विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

    गृह मन्त्रालयले हालै अखाद्य वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योगमाथि कडा कारबाही गरिने घोषणा गरिसकेको छ । यस्तो अवस्थामा सेभेन–अपको बोतलभित्र प्लास्टिक भेटिएको दाबीको निष्पक्ष अनुसन्धान र परीक्षणले नियामक निकायको सक्रियताको पनि परीक्षा लिने देखिएको छ ।

    उपभोक्ता अधिकारकर्मीहरूका अनुसार सम्बन्धित निकायले नमुना परीक्षण, उत्पादन लाइनको निरीक्षण, गुणस्तर व्यवस्थापन प्रणालीको अडिट तथा आवश्यक परे उत्पादन फिर्ता (रिकल) जस्ता कदम चाल्नुपर्ने अवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images