काठमाडौं- सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो (अपारदर्शी) सिसाको दुरुपयोग बढ्दै गएको भन्दै नेपाल प्रहरीले देशव्यापी रूपमा हटाउने अभियान सुरु गरेको छ । प्रहरीका अनुसार यस्ता सिसाको आडमा यात्रुमाथि दुर्व्यवहार, लागुऔषध तथा अवैध सामान ओसारपसार, फरार अपराधीको आवतजावत र अन्य आपराधिक गतिविधि हुने क्रम बढेपछि अभियान सञ्चालन गरिएको हो ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार कालो सिसाका कारण गाडीभित्र भइरहेका गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले अपराध अनुसन्धान र प्रमाण संकलनमा समेत चुनौती थपिएको छ ।
उनका अनुसार पछिल्लो समय ट्याक्सी तथा इनड्राइभ, याङ्गो जस्ता राइड–सेवा प्रयोग गर्ने यात्रुमाथि चालकबाट दुर्व्यवहार भएको उजुरीसमेत बढ्न थालेको छ । “गाडीभित्रको गतिविधि देख्न नसकिँदा यस्ता घटनाको प्रमाण जुटाउन कठिन हुन्छ । यही अपारदर्शिताको फाइदा उठाएर विभिन्न गैरकानुनी गतिविधि भइरहेको देखिएको छ,” काफ्लेले बताए ।
प्रहरीका अनुसार कालो सिसाको प्रयोग यौनजन्य अपराध, साना हतियार तथा लागुऔषध ओसारपसार, हुन्डी कारोबार र फरार अभियुक्तलाई लुकाउनसमेत हुने गरेको छ । यही कारण सरकारले मन्त्रीदेखि सर्वसाधारणले प्रयोग गर्ने अधिकांश सवारीसाधनबाट कालो सिसा हटाउने अभियान अघि बढाएको हो ।
यद्यपि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीको सवारीसाधनमा भने कालो सिसा यथावत् रहने प्रहरीले जनाएको छ । सर्वोच्च अदालतको आदेश तथा विद्यमान कानुनी व्यवस्थाअनुसार राष्ट्रप्रमुख र सरकार प्रमुखका सवारीमा सुरक्षा कारणले अपारदर्शी सिसा प्रयोग गर्न सकिने व्यवस्था रहेको प्रवक्ता काफ्लेले स्पष्ट पारे ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले असार १४ गतेदेखि अभियान सुरु गरेपछि तीन दिनमै २४० भन्दा बढी सवारीसाधनबाट कालो सिसा हटाइएको जनाएको छ ।
सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार अभियानलाई अब देशभर विस्तार गरिनेछ । प्रहरी प्रधान कार्यालयले सातै प्रदेशमा आवश्यक निर्देशनसमेत पठाइसकेको छ ।
अभियानको सुरुवात गृहमन्त्री सुधन गुरुङले आफ्नै सरकारी गाडीबाट गरेका थिए । उनले ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नै सवारीको कालो सिसा हटाउन निर्देशन दिएका थिए । त्यसपछि गृहसचिव राजकुमार श्रेष्ठको गाडीबाट पनि कालो सिसा हटाइएको थियो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी सवारीबाट समेत मन्त्रालयकै कर्मचारीले कालो सिसा हटाएका छन् ।






















