काठमाडौं- देशका केही स्थानीय तहले कुहिने फोहोरलाई स्रोतका रूपमा रूपान्तरण गर्दै कम्पोस्ट मल उत्पादनबाट आम्दानी गर्न थालेका छन् । तर काठमाडौं उपत्यकालगायत अधिकांश ठूला सहर भने अझै फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न असफल देखिएका छन् ।
गण्डकी प्रदेशको मध्यविन्दु नगरपालिकाले फोहोरबाट कम्पोस्ट मल उत्पादन गरी स्थानीय किसानलाई निःशुल्कदेखि सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७९/ ८० मा दुई करोड १३ लाख ८० हजार रुपैयाँ लागतमा स्थापना गरिएको जैविक मल उत्पादन परियोजनामा पछिल्ला तीन वर्षमा कुल छ करोड ५६ लाख रुपैयाँ खर्च भएको छ । सोही अवधिमा कम्पोस्ट मल बिक्रीबाट मात्रै तीन करोड पाँच लाख रुपैयाँ आम्दानी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जानकारी दिए ।
मध्यविन्दु मात्र होइन, धुलिखेल, बनेपा, पोखरा, भरतपुर, हेटौंडा, तिलोत्तमा, इटहरी, बुटवल, घोराही र धनगढीलगायतका स्थानीय तहले पनि समुदाय वा नगरस्तरमा कम्पोस्ट प्लान्ट सञ्चालन गर्दै आएका छन् । कतिपय पालिकाले घरमै कम्पोस्ट बनाउन ुकम्पोस्ट बिनु वितरण गरेका छन् भने कतिपयले उत्पादन भएको मल किसानलाई बिक्री गरिरहेका छन् ।
काठमाडौं उपत्यकामा भने फोहोर व्यवस्थापन अझै पनि दीर्घकालीन योजना र प्रभावकारी प्रणालीको अभावमा अल्झिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा सामान्य अवरोध आउँदा पनि राजधानीका सडक, नदी किनार र सार्वजनिक स्थान फोहोरले भरिने अवस्था दोहोरिने गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८ सालमै जनघनत्व बढी भएका स्थानीय तहमा कम्पोस्ट प्लान्ट स्थापना तथा स्रोतमै फोहोर वर्गीकरण अनिवार्य गर्ने मापदण्ड जारी गरेको थियो। वातावरणमैत्री स्थानीय सरकार रणनीतिले प्रत्येक स्थानीय तहलाई आफ्नै क्षेत्रमा कम्पोस्ट प्लान्ट सञ्चालन गर्नुपर्ने व्यवस्था गरे पनि धेरै पालिकाले त्यसको प्रभावकारी कार्यान्वयन गर्न सकेका छैनन् ।
काठमाडौं उपत्यकाका स्थानीय तहले हरेक वर्ष फोहोर संकलन, ढुवानी, उपकरण खरिद, ट्रान्सफर स्टेसन सञ्चालन र अन्तिम विसर्जनका लागि अर्बौं रुपैयाँ खर्च गर्दै आएका छन् । तर खर्च बढ्दै जाँदा पनि सेवा गुणस्तरमा अपेक्षित सुधार देखिएको छैन । केही दिन मात्रै फोहोर संकलन अवरुद्ध हुँदा राजधानीका सडक दुर्गन्धित हुने र सार्वजनिक स्थान फोहोरले भरिने अवस्था नियमितजस्तै बनेको छ ।
फोहोरमैला व्यवस्थापन ऐन, २०६८र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ले स्थानीय तहलाई फोहोर व्यवस्थापन, पुनः प्रयोग, पुनर्चक्रण, सेवा शुल्क निर्धारण, निजी क्षेत्र परिचालन तथा दण्ड–जरिवानासम्मका अधिकार दिएको छ । तर स्रोतमै फोहोर वर्गीकरण अनिवार्य गराउने तथा उल्लंघन गर्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा स्थानीय तहको भूमिका कमजोर बन्दै गएको देखिएको छ ।






















