images
images
  • असइ थमन विक हत्या प्रकरणः उच्च अदालतको फैसला, पूर्वसांसद लक्ष्मी महतो दोषी, अभिराम शर्माको सजाय जन्मकैदबाट पाँच वर्षमा झर्‍यो

    काठमाडौं- सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले जिल्ला अदालत महोत्तरीको फैसला आंशिक रूपमा उल्ट्याउँदै दुई पूर्वसांसदसहित छ जनालाई पाँच वर्ष कैद र तीन जनाको जन्मकैद सजायलाई यथावत् कायम गरेको छ ।

    कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार सुनाएको फैसला अनुसार जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र, धर्मेन्द्र राय र सुरेश पाण्डेलाई पाँच–पाँच वर्ष कैद सजाय निर्धारण गरिएको छ । अदालतका अनुसार उनीहरूले असई विकमाथि प्रत्यक्ष आक्रमण गरेको पर्याप्त प्रमाण नदेखिए पनि मुख्य अभियुक्तहरूको बयान तथा घटनाको समग्र परिस्थितिका आधारमा हत्या गराउने कार्यमा संलग्न रहेको पुष्टि भएको छ ।

    उच्च अदालतले जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतो र पवन कापरलाई पनि दोषी ठहर गर्दै जनही पाँच वर्ष कैद सजाय सुनाएको छ । यससँगै जिल्ला अदालतको उक्त फैसला आंशिक रूपमा उल्टिएको छ ।

    उच्च अदालतले घटनाका मुख्य अभियुक्त प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुर विरुद्ध जिल्ला अदालतले गरेको जन्मकैदको फैसला भने सदर गरेको छ । उनीहरूलाई तत्कालीन मुलुकी ऐनअन्तर्गत ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गरिएको हो ।

    अदालतले फैसलामा चिकित्सकीय प्रतिवेदन, किटानी जाहेरी, अनुसन्धानका क्रममा लिइएका बयान, एम्बुलेन्स चालक सुशील मिश्र सहितका साक्षीहरूको भनाइ तथा घटनास्थलका तस्बिरलाई मुख्य प्रमाणका रूपमा स्वीकार गरेको छ । विशेषगरी सञ्जयकुमार साहले असई विकमाथि आक्रमण गरिरहेको देखिने तस्बिरलाई अदालतले प्रत्यक्ष र महत्वपूर्ण प्रमाणका रूपमा व्याख्या गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images