काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयन तत्काल नगर्ने निर्णय गरेको छ ।
बुधबार सम्पन्न बैठकपछि महामन्त्री विपिनकुमार आचार्यले पहिलो बैठकमा मनोनयनसम्बन्धी कुनै निर्णय नभएको जानकारी दिए । उनका अनुसार बैठक मुख्यतः नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यबीच परिचय र शुभकामना आदानप्रदानमा केन्द्रित रह्यो। साथै, पार्टीका विभिन्न विभागको जिम्मेवारीबारे प्रारम्भिक छलफल पनि गरिएको उनले बताए ।
महामन्त्री निशा डाँगीले पार्टी विधान अनुसार मनोनयन गर्ने अधिकार सभापतिमा निहित रहेको स्पष्ट पारिन् । उनले आवश्यकताअनुसार आगामी दिनमा सभापतिले क्रमशः मनोनयन प्रक्रिया अघि बढाउने बताइन् ।
रास्वपाको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य, ३३ जना सचिवालय सदस्य तथा १० जना पदाधिकारी मनोनयन गर्ने अधिकार छ । पार्टीले संगठनात्मक आवश्यकता र उपयुक्त समयका आधारमा मनोनयन प्रक्रिया अघि बढाइने जनाएको छ ।






















