images
images
  • सात दिनको गिरावटपछि सेयर बजारमा सुधार, नेप्से ४४.५९ अंकले उकालो

    काठमाडौं- लगातार सात कारोबार दिनसम्म ओरालो लागेको नेपाली सेयर बजार बुधबार उल्लेख्य सुधारसहित हरियालीमा फर्किएको छ । बजार मापक नेप्से परिसूचक ४४.५९ अंकले बढेर २,६५२.०२ बिन्दुमा पुगेको छ ।

    बजार खुलेदेखि नै सकारात्मक लयमा रहेको कारोबारमा लगानीकर्ताको सक्रियता पनि बढेको देखिएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बुधबार कारोबार रकम बढेर ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

    आज कारोबारमा सहभागी २७५ कम्पनीमध्ये २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

    सबै उपसमूहका सूचकहरू हरियालीमा रहे । व्यापार समूह सबैभन्दा धेरै २.६० प्रतिशतले बढ्दा जलविद्युत् समूह २.४२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह २.३४ प्रतिशतले उकालो लागे । त्यस्तै निर्जीवन बीमा २.०३ प्रतिशत, अन्य १.७६ प्रतिशत, होटल तथा पर्यटन १.६६ प्रतिशत, लगानी १.६५ प्रतिशत, फाइनान्स १.४९ प्रतिशत, जीवन बीमा १.४८ प्रतिशत, विकास बैंक १.१५ प्रतिशत, बैंकिङ १.१४ प्रतिशत तथा माइक्रोफाइनान्स १.११ प्रतिशतले वृद्धि दर्ज गरे।

    सात दिनको लगातार गिरावटपछि बजारमा आएको यो सुधारले लगानीकर्ताको मनोबल केही हदसम्म उकासेको देखिए पनि आगामी कारोबारमा बजारले यही लय कायम राख्छ वा राख्दैन भन्ने विषयमा भने लगानीकर्ताको ध्यान केन्द्रित रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images