काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीका विभिन्न आयोगको नेतृत्व चयनसहित महत्त्वपूर्ण निर्णय गरेको छ ।
बुधबार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहणपछि बसेको बैठकले प्रथम महाधिवेशन सफल बनाउन योगदान पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका सहमहामन्त्री हरि ढकालले निर्वाचन, लेखा र अनुशासन आयोगको नेतृत्व चयन गरिएको जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोग र लेखा आयोगमा भने साविककै नेतृत्वलाई निरन्तरता दिने निर्णय भएको छ । अनुशासन आयोगको नेतृत्वमा भने परिवर्तन गर्दै पूर्वन्यायाधीश लेखनाथ पौडेललाई प्रमुख नियुक्त गरिएको छ । कास्कीका पौडेल न्यायिक क्षेत्रको लामो अनुभव बोकेका व्यक्ति हुन् ।
प्रथम महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टीको आन्तरिक संरचना सुदृढ बनाउने तथा संगठनात्मक कामलाई तीव्रता दिने दिशामा आवश्यक निर्णयहरू अघि बढाएको रास्वपाले जनाएको छ ।






















