images
images
  • २५औँ वार्षिकोत्सवमा नेपाल लाइफलाई ‘गोल्ड अवार्ड’, उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि सम्मानित

    काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले असार १६ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो । अवार्ड नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका थिए।

    कम्पनीले आर्थिक वर्ष २०८१ /८२ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट ढङ्गले प्रस्तुत गरेको, वित्तीय पारदर्शिता कायम राखेको, आवश्यक खुलासा गरेको, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना गरेको र संस्थागत सुशासनप्रति उच्च प्रतिबद्धता देखाएको आधारमा गोल्ड अवार्ड प्रदान गरिएको हो ।

    अवार्ड ग्रहणपछि सीईओ पराजुलीले यो उपलब्धि सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गौरवको विषय भएको बताए । उनका अनुसार उक्त सम्मानले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादन कायम राख्ने जिम्मेवारी थपिएको छ । उनले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे ।

    कम्पनीका अनुसार चैत्र मसान्त २०८३ सम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी भइसकेका छन् । नेपाल लाइफले हाल २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको छ भने १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ ।

    त्यसैगरी, कम्पनीले हालसम्म नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको जनाएको छ। वित्तीय स्थायित्व र दायित्व बहन गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी भएको दाबी पनि कम्पनीले गरेको छ ।

    नेपालभरका ७७ जिल्लामा १९७ कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत सेवा विस्तार गर्दै आएको नेपाल लाइफले आगामी दिनमा पनि वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्दै नेपाली नागरिकको आर्थिक सुरक्षामा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images