काठमाडौं- नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रदान गर्ने ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड’ अन्तर्गत निजी क्षेत्रको बैंकतर्फ नबिल बैंकले लगातार तेस्रो वर्ष गोल्ड अवार्ड जितेको हो ।
यससँगै बैंकले यस वर्ष पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ अन्तर्गत पनि ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । यसरी नबिल बैंक एकै वर्ष तीनवटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको हो ।
मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा आइक्यानका अध्यक्ष सिए नीलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए ।
आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा अवार्ड प्रदान गरेको जनाएको छ । छनोट प्रक्रियामा वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन, खुलासा अभ्यास तथा दिगोपनलाई प्रमुख मापदण्डका रूपमा समावेश गरिएको थियो । ती सबै सूचकमा उत्कृष्ट प्रदर्शन गरेपछि नबिल बैंकलाई सम्मानित गरिएको आइक्यानले जनाएको छ ।
यसअघि पनि नबिल बैंकले सन् २०२३ र २०२४ का वार्षिक प्रतिवेदनका लागि यही गोल्ड अवार्ड प्राप्त गरिसकेको थियो । यस वर्षको पुरस्कृत वार्षिक प्रतिवेदन दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपिए अवार्डका लागि समेत मनोनयन हुने आयोजकले जनाएको छ ।
हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ। चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिलले दिगो बैंकिङ, सुशासन र प्रविधिमैत्री सेवामार्फत वित्तीय क्षेत्रको नेतृत्वलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।


विश्व खबर 




















