काठमाडौं –आयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ अन्तर्गत इक्वेडरलाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै दुई गोल गर्दै प्रभावशाली प्रदर्शन गरेको हो।
मेक्सिकोका लागि जुलियन क्युनिओनसले खेलको २२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ३१औँ मिनेटमा राउल जिमिनेजले अर्को गोल थप्दै मेक्सिकोको जित सुनिश्चित गरे। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल २–० मै टुंगियो।
यो जितसँगै मेक्सिकोले विश्वकपको नकआउट चरणमा ४० वर्षपछि पहिलो जित दर्ता गरेको छ। सन् १९८६ यता विश्वकपको नकआउट चरणमा जितविहीन रहेको मेक्सिकोले घरेलु समर्थकमाझ ऐतिहासिक सफलता हात पारेको हो।
यता, पराजित इक्वेडरको विश्वकप यात्रा भने अन्तिम १६ मै टुंगिएको छ। पाँचौँ पटक विश्वकपमा सहभागी भएको इक्वेडरले दोस्रो पटक मात्र समूह चरण पार गर्दै नकआउट चरणमा स्थान बनाएको थियो।
यसअघि मंगलबार राति सम्पन्न अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो। यस्तै, फ्रान्सले स्विडेनलाई ३–० ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको थियो।


विश्व खबर 



















