एजेन्सी — फिफा विश्वकपको नकआउट चरणअन्तर्गत आज पाँच पटकको विश्वविजेता ब्राजिलले जापानको सामना गर्दैछ। नेपाली समयअनुसार खेल राति १०ः४५ बजे सुरु हुनेछ।
समूह ‘सी’ को विजेताका रूपमा ब्राजिल अन्तिम ३२ मा पुगेको हो। पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको ब्राजिलले त्यसपछि हैटी र स्कटल्यान्डलाई समान ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो।
यता, समूह ‘एफ’ को उपविजेता बनेर जापान पनि अपराजित रहँदै अन्तिम ३२ मा पुगेको हो। जापानले स्विडेनसँग १–१ र नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको थियो भने ट्युनिसियालाई ४–० ले हराएको थियो।
लगातार तेस्रो पटक विश्वकपको नकआउट चरणमा पुगेको जापान उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छ। गत अक्टोबरमा टोकियोमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई ३–२ ले पराजित गरेको थियो। त्यसको आत्मविश्वासका साथ टोली आज ह्युस्टन स्टेडियममा इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रनेछ।
ब्राजिल
ब्राजिलका विङ्गर राफिन्हा ह्यामस्ट्रिङ चोटका कारण अझै पूर्ण रूपमा फिट हुन सकेका छैनन्। हैटीविरुद्ध चोट बोकेका उनले स्कटल्यान्डविरुद्धको खेल गुमाएका थिए। प्रशिक्षणमा पूर्ण रूपमा नफर्किएकाले जापानविरुद्ध उनको सहभागिता अनिश्चित देखिएको छ।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले स्कटल्यान्डविरुद्ध उतारेकै सुरुआती टोलीलाई निरन्तरता दिने सम्भावना छ। समूह चरणका तीनै खेलमा गोल गरेका भिनिसियस जुनियरसँगै लुकास पाकेटा र म्याथियस कुन्हाले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
लामो समयपछि चोटमुक्त हुँदै स्कटल्यान्डविरुद्ध वैकल्पिक खेलाडीका रूपमा पुनरागमन गरेका नेयमार यस खेलमा पनि बेन्चबाटै खेल्ने सम्भावना छ। करिब एक हजार दिनपछि उनले ब्राजिलका लागि पुनरागमन गरेका थिए।
यता, कासेमिरो र डानिलो भने पहेँलो कार्डको जोखिममा रहेकाले उनीहरूले सावधानीपूर्वक खेल्नुपर्नेछ।
जापान
स्विडेनविरुद्धको खेलमा ३९औँ मिनेटमा सामान्य चोटका कारण मैदान छाडेका कप्तान को इटाकुराको अवस्था गम्भीर नरहेको बताइएको छ। अजाक्सका सेन्टर–ब्याक इटाकुरा आज कप्तानकै भूमिकामा मैदान उत्रिने अपेक्षा गरिएको छ। आवश्यक परे शोङ्गो तानिगुची विकल्पका रूपमा उपलब्ध रहनेछन्।
टाकेफुसा कुबो भने घुँडाको चोटका कारण अझै पूर्ण प्रशिक्षणमा फर्किन नसकेकाले उनको सहभागिता पनि अनिश्चित छ। काइशु सानोले पुनः सुरुआती–११ मा स्थान बनाउने सम्भावना छ।
मुख्य प्रशिक्षक हाजिमे मोरियासुले सन् २०२४ यता लगातार ३–४–२–१ को रणनीति अपनाउँदै आएका छन्। यस खेलमा पनि सोही रणनीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। जापान आज ब्राजिललाई हराउँदै पहिलो पटक प्रि–क्वाटरफाइनल प्रवेशको इतिहास रच्ने लक्ष्यमा हुनेछ।


विश्व खबर 



















