काठमाडौं– लाइसेन्स खारेज भइसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलाम र त्यसपछि निजी कम्पनीमार्फत हस्तान्तरण गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसञ्चारमन्त्रीहरू तथा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन नेतृत्वमाथि गम्भीर अनुसन्धान अघि बढाएका छन् ।
अनुसन्धानको केन्द्रमा अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, तथा विगतका विभिन्न सरकारमा सञ्चार मन्त्रालय सम्हालेका अन्य पूर्वमन्त्रीहरू रहेका छन् ।
सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति बैंकिङ प्रक्रियामार्फत लिलाम भई अन्ततः एनसेलको नियन्त्रणमा पुगेपछि राज्यलाई अर्बौं रुपैयाँको क्षति पुर्याइएको आशंकामा छानबिन तीव्र बनाइएको हो ।
अख्तियार र सीआईबी दुवैले लाइसेन्स नवीकरणका लागि पटक–पटक दिइएको सुविधा, बक्यौता नतिरे पनि कम्पनीलाई जोगाउने प्रयास, सम्पत्ति व्यवस्थापनमा भएको ढिलासुस्ती तथा अन्ततः लिलामी प्रक्रियासम्मका सम्पूर्ण निर्णयहरूको अध्ययन गरिरहेका छन् ।
सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार स्मार्ट टेलिकमको लाइसेन्स नवीकरण, म्याद थप, सम्पत्ति व्यवस्थापन तथा एनसेलसँग जोडिएका लगानीकर्ताहरूको भूमिकाबारे विस्तृत विश्लेषण भइरहेको छ ।
पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालले तयार पारेको प्रतिवेदनसमेत अनुसन्धानको महत्वपूर्ण आधार बनेको छ ।
यसअघि नै स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा ट्रान्सटेक कम्पनीकी सञ्चालक पलिना श्रेष्ठ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी र नरेन्द्र उलक पक्राउ परिसकेका छन् ।
सर्वोच्च अदालतको आदेशपछि पाण्डे र जोशी रिहा भइसकेका छन् भने अन्य केही व्यक्ति हाजिरी जमानीमा छुटेका छन् ।
३० अर्बभन्दा बढी राज्यकोषीय दायित्व
स्मार्ट टेलिकमले लाइसेन्स नवीकरण शुल्क, रोयल्टी, फ्रिक्वेन्सी दस्तुर तथा जरिवानासहित विभिन्न शीर्षकमा राज्यलाई ३० अर्ब रुपैयाँभन्दा बढी रकम बुझाउन बाँकी रहेको छ ।
यति ठूलो दायित्व बाँकी हुँदाहुँदै बैंकले ऋण असुलीको नाममा कम्पनीको सम्पत्ति लिलाम गरी अर्को निजी कम्पनीलाई हस्तान्तरण गरेको घटनालाई अनुसन्धान निकायहरूले शंकास्पद मानेका छन् ।
अख्तियारले विशेषगरी बैंकको लिलामी प्रक्रिया, सरकारी स्वामित्वमा आइसकेको सम्पत्तिमाथि गरिएको दाबी तथा त्यसपछि उही व्यावसायिक समूहसँग सम्बन्धित पक्षले सम्पत्ति नियन्त्रणमा लिएको घटनालाई गम्भीरतापूर्वक अध्ययन गरिरहेको जनाएको छ ।
जगदीश खरेलमाथि किन केन्द्रित भयो अनुसन्धानरु
स्मार्ट टेलिकमको लाइसेन्स अन्ततः खारेज भएपछि कम्पनीको सम्पत्ति मूल्यांकन गरेर व्यवस्थापन गर्ने प्रक्रिया सुरु गरिएको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०८० सालमै सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको थियो ।
तर मन्त्रालयबाट आवश्यक निर्णय नहुँदा प्रक्रिया अघि बढ्न सकेन ।
अनुसन्धान अधिकारीहरूका अनुसार मूल्यांकनसम्बन्धी फाइल सञ्चार मन्त्रालय पुगेपछि पनि त्यसलाई निष्कर्षमा पुर्याइएन ।
यही अवधिमा अन्तरिम सरकार गठन भयो र जगदीश खरेल सञ्चारमन्त्री नियुक्त भए ।
उनी पदमा आएको केही दिनमै एनआईएमबी बैंकले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गर्यो ।
अनुसन्धानकर्ताहरूको दाबी छ कि सरकारी स्वामित्वमा आउनुपर्ने सम्पत्तिको मूल्यांकन तथा व्यवस्थापन प्रक्रिया रोकिँदा बैंकलाई लिलामी गर्न सहज वातावरण बनेको थियो ।
यही कारण पूर्वमन्त्री खरेलमाथि सरकारी सम्पत्ति संरक्षणमा बेवास्ता गरेको आरोपमा अनुसन्धान केन्द्रित भएको हो ।
सात पूर्वसञ्चारमन्त्रीको भूमिकामाथि प्रश्न
स्मार्ट टेलिकमको लाइसेन्स २०७६ सालमै खारेज हुनुपर्ने अवस्थामा विभिन्न सरकारहरूले पटक–पटक म्याद थप गर्दै कम्पनीलाई सुविधा दिएका थिए ।
अनुसन्धानको दायरामा रहेका पूर्वसञ्चारमन्त्रीहरूमा गोकुल बाँस्कोटा, युवराज खतिवडा, पार्वत गुरुङ, ज्ञानेन्द्रबहादुर कार्की, रेखा शर्मा, पृथ्वी सुब्बा गुरुङ र जगदीश खरेल रहेका छन् ।
२०७६ पुसमा प्राधिकरणले लाइसेन्स खारेज गर्ने निर्णय गरे पनि तत्कालीन सरकारले त्यसलाई उल्ट्याएर पुनः समय दिएको थियो ।
त्यसपछि विभिन्न मन्त्रिपरिषद् निर्णयमार्फत स्मार्ट टेलिकमलाई बक्यौता बुझाउने समय पटक–पटक थप गरिएको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यस्ता निर्णयहरूले कम्पनीलाई कानुनी दायित्वबाट जोगाउने वातावरण बनाएको देखिन्छ ।
साथै, लाइसेन्स खारेज भइसकेपछि ल्याइएको सम्पत्ति व्यवस्थापनसम्बन्धी नियमावलीमा पनि विवादास्पद प्रावधान समावेश गरिएको आशंका छ ।
अख्तियार र सीआईबीको निष्कर्षको प्रतीक्षा
हाल अख्तियारले सीआईबीबाट प्राप्त विवरण तथा आफ्नै अनुसन्धानका आधारमा थप प्रमाण संकलन गरिरहेको छ ।
सम्बन्धित पूर्वमन्त्रीहरू, मन्त्रालयका तत्कालीन सचिवहरू, नियामक निकायका पदाधिकारी तथा अन्य सरोकारवालासँग बयान लिने क्रम जारी रहेको स्रोत बताउँछ ।
अनुसन्धान निष्कर्षमा पुगेपछि सरकारी सम्पत्तिको संरक्षणमा लापरबाही, आपराधिक विश्वासघात, भ्रष्टाचार तथा राज्यलाई आर्थिक क्षति पुर्याउने कार्यमा संलग्नता देखिए कानुनी कारबाहीको प्रक्रिया अघि बढ्ने संकेत अख्तियारले दिएको छ ।
स्मार्ट टेलिकम प्रकरणलाई हालको समयको सबैभन्दा ठूलो दूरसञ्चार क्षेत्रसँग सम्बन्धित वित्तीय तथा नीतिगत विवादका रूपमा हेरिएको छ ।
अनुसन्धानको अन्तिम निष्कर्षले राज्यको सम्पत्ति व्यवस्थापन, नियामक निकायको भूमिका तथा राजनीतिक निर्णयहरूको जवाफदेहितासम्बन्धी महत्वपूर्ण प्रश्नहरूको उत्तर दिने अपेक्षा गरिएको छ ।























