images
images
  • एनसेलको १५ अर्ब ८५ करोड रुपैयाँ बैंक ऋण जोखिममा, आजियाटा जिम्मेवारीबाट पन्छिन खोज्दै

    काठमाडौं– दूरसञ्चार सेवा प्रदायक एनसेलले विभिन्न नेपाली बैंक तथा वित्तीय संस्थाबाट लिएको १५ अर्ब ८५ करोड रुपैयाँ कर्जा जोखिममा पर्ने अवस्था देखिएको छ ।

    कम्पनीको पूर्व प्रमुख लगानीकर्ता आजियाटा ग्रुप बर्हाडले आफूले दिएको ऋण प्रत्याभूति (गारन्टी) फिर्ता लिने र बाँकी कर्जाको जिम्मेवारी नलिने व्यवस्था सेयर खरिद–बिक्री सम्झौतामै उल्लेख गरेको तथ्य सार्वजनिक भएको छ ।

    एनसेलले स्थापनाकालदेखि विभिन्न चरणमा ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ कर्जा लिएको थियो ।

    त्यसमध्ये १४ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ भुक्तानी भइसकेको भए पनि हालसम्म १५ अर्ब ८५ करोड रुपैयाँ कर्जा बाँकी रहेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ ।

    सन् २०२३ डिसेम्बर १ मा आजियाटा ग्रुप बर्हाडले आफ्नो स्वामित्वको सेयर स्पेक्टलाइट यूकेलाई बिक्री गर्ने सम्झौता गर्दा कम्पनीले नेपाली बैंकहरूबाट लिएको ऋणको जमानी फिर्ता लिने र त्यसको दायित्व नबहोरिने प्रावधान राखेको थियो ।

    तर उक्त सेयर बिक्री प्रक्रियालाई सरकारले मान्यता नदिएपछि सम्झौता कार्यान्वयन हुन सकेको छैन ।

    सेयर बिक्री प्रक्रिया कर छली, पूर्वजानकारी नदिएको लगायतका विषयमा विवादित बनेपछि संसद्का विभिन्न समिति, सर्वोच्च अदालत तथा सरकारले समेत त्यसमा चासो देखाएका थिए ।

    यद्यपि कम्पनी सञ्चालन गरिरहेको आजियाटा ग्रुपले आफूले प्रत्याभूति दिएको ऋणबाट समेत पन्छिन खोजेको देखिएको छ ।

    सन् २०२३ को एनसेल सेयर कारोबारबारे अध्ययन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले पनि यही विषयलाई गम्भीर रूपमा उठाएको छ ।

    समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा बाँकी रहेको १५ अर्ब ८५ करोड रुपैयाँ कर्जाको सुरक्षाबारे नेपाल राष्ट्र बैंकले विशेष निगरानी गर्नुपर्ने सुझाव दिएको छ ।

    प्रतिवेदनमा भनिएको छ, “एनसेल आजियाटा लिमिटेडले विभिन्न आर्थिक वर्षमा गरी ३० अर्ब ५३ करोड ९३ लाख रुपैयाँ कर्जा लिएकोमा १४ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेको र १५ अर्ब ८५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।”

    समितिका अनुसार आर्थिक वर्ष २०७२/७३ पछि लिइएका कर्जाका लागि आजियाटा ग्रुप बर्हाडले जमानी दिएको थियो ।

    तर हालको सेयर बिक्री सम्झौतामा उक्त जमानी फिर्ता लिने र कर्जाको जिम्मेवारी नलिने व्यवस्था उल्लेख गरिएकाले नेपाली बैंकहरूले प्रवाह गरेको कर्जाको भविष्यबारे प्रश्न उठेको छ ।

    प्रतिवेदनमा नेपाल राष्ट्र बैंकलाई यस विषयमा प्रभावकारी नियमन र पर्याप्त निगरानी गर्न सुझाव दिइएको छ ।

    एनसेलले लिएका दीर्घकालीन कर्जाका लागि देशका विभिन्न स्थानमा रहेका कम्पनीका स्थिर सम्पत्तिहरू धितो राखिएका छन् ।

    त्यस्तै ‘नन–फण्डेड’ कर्जाका लागि एलसीमार्फत आयात गरिएका उपकरण, मेसिन तथा औजारहरू समेत धितो राखिएको उल्लेख छ ।

    एनसेलले लिएको ऋणका लागि आजियाटा ग्रुप बर्हाडले ९ अप्रिल २०२० मा प्रत्याभूति पत्र जारी गरेको थियो ।

    तर पछि स्पेक्टलाइट यूकेसँग भएको सेयर बिक्री सम्झौतामा आफूले दिएको उक्त प्रत्याभूति फिर्ता लिने व्यवस्था राखेर आजियाटाले जिम्मेवारीबाट उम्किन खोजेको आरोप सरकारी अधिकारीहरूको छ ।

    यसैबीच, समितिको प्रतिवेदनले सन् २०१५ देखि २०२४ सम्मको अवधिमा एनसेलले लाभांश तथा प्राविधिक एवं व्यवस्थापकीय सेवा शुल्कका नाममा ठूलो परिमाणमा विदेशी मुद्रा विदेश पठाएको तथ्य पनि औँल्याएको छ ।

    प्रतिवेदनअनुसार लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकले ६६ अर्ब ९५ करोड २५ लाख रुपैयाँ बराबर विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराएको छ ।

    त्यस्तै प्राविधिक तथा व्यवस्थापकीय सेवा शुल्कबापत २ करोड ४८ लाख ५० हजार अमेरिकी डलर विदेश पठाउन अनुमति दिइएको देखिन्छ ।

    एनसेलको वित्तीय विवरणअनुसार कम्पनीसँग विगतको नाफाबाट वितरण नगरिएको १८ अर्ब ७६ करोड रुपैयाँ ‘रिटेन्ड अर्निङ’का रूपमा सञ्चित रहेको छ ।

    स्पेक्टलाइट यूकेसँग भएको सेयर बिक्री सम्झौतामा सन् २०२३ मा वितरण गरिएको लाभांशको ८० प्रतिशत हिस्सा आजियाटाले पाउने, आर्थिक वर्ष २०७८/७९ मा घोषणा भई वितरण हुन बाँकी लाभांश पनि उसैले प्राप्त गर्ने तथा आर्थिक वर्ष २०७९/८० मा घोषणा हुने लाभांशको ८० प्रतिशत हिस्सा समेत आजियाटाले नै पाउने व्यवस्था गरिएको उल्लेख छ ।

    यसले कम्पनीबाट बाहिरिने तयारीमा रहेको आजियाटाले एकातिर लाभांशको ठूलो हिस्सा सुरक्षित गर्न खोजेको र अर्कोतर्फ बाँकी रहेको बैंक ऋणको दायित्वबाट पन्छिन खोजेको देखिएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images