चितवन– रास्वपा मतदानमा देखिएको भद्रगोलको मुख्य कारण उम्मेदवारी व्यवस्थापनमा भएको कमजोरी रहेको खुलेको छ ।
पार्टी स्रोतका अनुसार भोटिङ मेसिनमा समस्या नभई उम्मेदवारहरूको अन्तिम नामावली तयार गर्ने क्रममा क्लस्टरहरू छुट्याउन नसक्दा विवाद सिर्जना भएको हो ।
मधेशी, थारु, महिला लगायत विभिन्न क्लस्टरका उम्मेदवारलाई अलग(अलग सूचीमा राख्नुको सट्टा ६४ जनाकै नाम एउटै सूचीमा समावेश गरेर प्राविधिकलाई उपलब्ध गराइएको थियो ।
त्यसैका आधारमा भोटिङ मेसिनमा विवरण प्रविष्ट हुँदा उम्मेदवारी दर्ताको क्रम र मेसिनमा देखिएको क्रमसंख्या नमिलेको गुनासो उठेको छ ।
स्रोतका अनुसार एउटै क्लस्टरका फाराम तीन स्थानबाट संकलन गरिएकाले सिरियल नम्बर दोहोरिने समस्या समेत देखिएको थियो ।
यस्तो अवस्था बारबार दोहोरिपछि प्रतिनिधिबीच भनाभन भएको थियो भने केहीले मुक्कामुक्की गरेका छन् ।
पछि सूची एकीकृत गर्दा उम्मेदवारहरूको क्रम फेरिएर थप अन्योल सिर्जना भएको बताइएको छ ।
पार्टी नेताहरूले अनुभवको कमी र निर्वाचन व्यवस्थापनमा पर्याप्त समन्वय नहुँदा यस्तो अवस्था आएको स्वीकार गरेका छन् ।
भोटिङका लागि प्रयोग गरिएको राम–लक्षमण मेसिन यसअघि अन्य दल र संस्थाका निर्वाचनमा पनि प्रयोग हुँदै आएको छ ।























