images
images
  • भारतमा मोदी झन् शक्तिशाली बन्दै, दुईतिहाइ बहुमत जुटाउने कसरत

    काठमाडौं– सन् २०२४ को लोकसभा निर्वाचनमा स्पष्ट बहुमत नपाए पनि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडिए गठबन्धनले पछिल्ला महिनाहरूमा संसदमा आफ्नो शक्ति उल्लेखनीय रूपमा बढाएको छ ।

    क्षेत्रीय दलहरूमा भएको फुट, दल(बदल र नयाँ राजनीतिक समीकरणका कारण एनडिएको लोकसभा सिट संख्या २९३ बाट बढेर ३१९ पुगेको बताइएको छ ।

    पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको तृणमूल कांग्रेसका २० सांसद अलग भई एनडिए समर्थक नयाँ दलमा आबद्ध भएपछि सत्तापक्षलाई ठूलो फाइदा पुगेको छ ।

    महाराष्ट्रमा पनि उद्धव ठाकरे समूहका सांसदहरू एकनाथ शिन्दे नेतृत्वको शिवसेनामा प्रवेश गरेका छन् ।

    हाल लोकसभामा दुई(तिहाइ बहुमतका लागि ३६० सिट आवश्यक पर्ने अवस्थामा एनडिए अझै करिब २० सिटले पछाडि छ ।

    यही अन्तर कम गर्न भाजपा विपक्षी गठबन्धन ‘इन्डिया’ मा आबद्ध दलहरूसँग समेत समीकरण मिलाउने प्रयासमा रहेको बताइन्छ ।

    राज्यसभामा पनि एनडिएको स्थिति बलियो बन्दै गएको छ ।

    हाल गठबन्धनसँग करिब १४९ सांसदको समर्थन रहेको र आगामी निर्वाचनपछि यो संख्या थप बढ्ने अनुमान गरिएको छ ।

    भाजपाको मुख्य लक्ष्य ‘परिसीमन विधेयक’ पारित गराउनु रहेको विश्लेषकहरूको भनाइ छ ।

    यो विधेयकले लोकसभा निर्वाचन क्षेत्रहरूको पुनर्गठन गर्नेछ, जसबाट जनसंख्या तीव्र रूपमा बढेका उत्तर भारतीय राज्यहरूको प्रतिनिधित्व बढ्ने सम्भावना छ ।

    तर विपक्षी दलहरू र दक्षिण तथा पश्चिम भारतका राज्यहरूले यसको विरोध गरिरहेका छन् ।

    उनीहरूको तर्क छ, यसले जनसंख्या नियन्त्रणमा सफल राज्यहरूको राजनीतिक प्रभाव घटाउनेछ ।

    कांग्रेसले भने भाजपाले दुई(तिहाइ बहुमतको आडमा संविधान संशोधन र आरक्षण व्यवस्थामाथि असर पार्न खोजेको आरोप लगाएको छ ।

    राजनीतिक विश्लेषकहरूका अनुसार क्षेत्रीय दलहरू कमजोर बन्दै जाँदा भाजपा केन्द्र सरकार सञ्चालनमा सहयोगी दलहरूमाथिको निर्भरता घटाउने रणनीतिमा अघि बढिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images