काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माको बयानका आधारमा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गरिएको खुलेको छ ।
म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको सरकारी दाबीमा उनीहरूको बयानलाई आधार बनाइएको उल्लेख भएपछि पौडेल पक्षका कानून व्यवसायीले कडा प्रतिवाद गरेका छन् ।
सरकारी पक्षका अनुसार, श्रीराम टोबाको प्रालिको शेयर बिक्री प्रकरणमा पौडेलले सहजीकरण गरेको आरोप लगाइएको छ ।
यसै विषयमा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको बताइएको छ ।
पौडेल पक्षका वकिलहरूले भने बयान दिने व्यक्तिहरूमाथि अनुसन्धान नगरी उनीहरूले नाम लिएकै आधारमा पक्राउ गर्नु राजनीतिक प्रतिशोध भएको जिकिर गरेका छन् ।
उनीहरूले आरोप पुष्टि हुने कुनै ठोस प्रमाण सरकारले पेश गर्न नसकेको दाबी गर्दै पौडेललाई फसाउने नियत देखिएको बताएका छन् ।























